शुभकामना गीतले समाजका सबै क्षेत्र र वर्गलाई समेट्ने : खेम प्रसाईं
काठमाडौं ३० चैत । लामो समयदेखि गीत तथा साहित्य सिर्जनामा सक्रिय खेम प्रसाईंको नयाँ म्युजिक भिडियो शुभकामना सार्वजनिक भएको छ । नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा गीतकार प्रसाईंले समग्र क्षेत्रलाई समेटेर तयार पारिएको म्युजिक भिडियो शुभकामना सार्वजनिक गरेका हुन् । उनको म्युजिक भिडियोमा राजनीति, प्रशासन, बालबालिका, युवा लगायत समग्र विषय र पेसालाई सम्बोधन गरिएको पाइन्छ ।
गायक दीपक लिम्बुको स्वरमा रहेको उक्त गीतमा गायिका बेनिसा पौडेलले पनि स्वर भरेकी छन् । गीतकार खेम प्रसाईंको शब्द सिर्जना रहेको उक्त गीतमा महेश खड्काले संगीत भरेका हुन् । महेश खड्का कम्पोजर युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा सर्जक प्रसाईं आफैंले पनि अभिनय गरेका छन् । प्रसाईंको उक्त म्युजिक भिडियो मिनाक्षी कोइरालाले निर्देशन गरेकी हुन् ।
गीतकार प्रसाईं यस्तो थिममा धेरै जसो गीत बजारमा नआएको बताउँछन् । प्रसाईंले भने आफ्नो शुभकामना गीत समाजका सबै क्षेत्र र वर्गलाई समेट्ने गरी तयार पारेका हुन् ।