ईश्वर निन्दाको आरोपमा श्रीलंकनलाई मार्ने ६ पाकिस्तानीलाई सुनाइयो मृत्युदण्ड
काठमाडौं ६वैशाख । पाकिस्तानमा ईश्वर निन्दाको आरोपमा एक जना श्रीलंकन नागरिकलाई कुटेर मार्ने ६ जनालाई मृत्युदण्ड सुनाइएको छ।
द डनका अनुसार सोमबार एन्टिटेरोरिज्म कोर्टले उक्त हत्यामा संलग्न ९ जनालाई जन्मकैदको सजाय तोकेको छ।
गत मंसिरमा पाकिस्तानको पञ्जाव प्रान्तको सियालकोटस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा म्यानेजरको काम गर्ने श्रीलंकन नागरिक प्रियानाथ कुमारालाई आक्रोशित भीडले पहिला कुटपिट गरेको थियो भने पछि उनको शरिरमा आगो लगाएको थियो।
उक्त फ्याक्ट्रीमा कुमाराले ईश्वरको निन्दा गरेको अफवाह फैलिएको थियो। सात वर्षदेखि उक्त फ्याक्ट्रीमा काम गर्दै आएका कुमाराले तेहरिक लाब्बिक पाकिस्तान टिएलपी नामक संगठनको पोस्टर च्यातेको उनीहरूको भनाइ थियो।
जुन पोस्टरमा कुरानको केही कुरा उल्लेख थियो। कुमाराविरूद्ध सुरूमा फ्याक्ट्रीमा काम गर्नेहरू र आसपासका स्थानीयले फ्याक्ट्रीबाहिर प्रदर्शन गरेका थिए भने पछि आक्रोशित भीड भित्र पसेर उनीमाथि आक्रमण गरेको थियो। कुमाराको हत्यामा संलग्न अरू ७२ जनालाई दुई वर्षको कैद सजाय सुनाइएको छ।
गत माघमा सियालकोट बिजनेस कम्युनिटीले कुमाराको परिवारलाई १ लाख अमेरिकी डलर सहयोगस्वरूप दिएको थियो। कुमारा काम गर्ने राजको इन्डस्ट्रिजले पनि कुमाराका श्रीमतीका नाममा मासिक दुई हजार डलर तलबका रूपमा राखिदिने भएको छ। राजकोले १० वर्षसम्म यसरी तलब राखिदिने जनाएको छ।
पाकिस्तानमा ईश्वर निन्दाको आरोपमा मानिसहरूको हत्या गर्ने घटना बेलाबेलामा भइरहन्छन्। अफगानिस्तानसँग जोडिएको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको डेरा इस्माइल खान भन्ने ठाउँमा केही दिनअघि तीन जना महिलाले मदरसाकी २१ वर्षीया शिक्षिकाको हत्या गरेका थिए।
समाचार संस्था एएफपीका अनुसार अर्को मदरसाका ती तीन जना महिलाले प्रहरी बयानमा आफ्नी एक आफन्तले पीडित शिक्षिकाले ईश्वरको निन्दा गरेको सपना देखेको बताएका थिइन्।
अलजजिरा टेलिभिजनका अनुसार सन् १९९० यता पाकिस्तानमा इशनिन्दाको आरोपमा ८२ जनाको हत्या भएको छ। केही समयअघि एक जना श्रीलंकन नागरिकलाई ईश्वरको निन्दा आरोपमा कुटीकुटी हत्या गरेर जलाइएको थियो। एजेन्सी