महिला उम्मेदवार पाउनै मुस्किल
काठमाडौं १३ वैशाख । संविधानले दिएको महिला अधिकार र अवसर सत्तारुढ गठबन्धनका कारण खोसिएको भन्दै केही स्थानमा महिला रुष्ट भइरहेका बेला कतिपय स्थानमा भने महिला उम्मेदवार पाउनै मुस्किल छ । मनाङमा जिल्लामा यस्तै भएको छ । मनाङमा महिलाका लागि नै तोकिएको सङ्ख्या पूर्तिसमेत हुन सकेन ।
मनाङमा सबैभन्दा बढी मतदाता नै महिलाको छ । तर, उम्मेदवार बन्न चाहने भने देखिँदैनन् । मनोनयन दर्ताको समय सकिएको छ तर पनि महिलाकै लागि तोकिएको गाउँपालिका, वडामा आवश्यक सङ्ख्या पु¥याउनै मुस्किल भएको देखिन्छ ।
हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाको पाँच वटै वडामा निर्वाचनका लागि दलित महिला सदस्यको उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त गाउँपालिकाको पाँच वडामा दलितसहित गरी महिला सदस्य १० जनाको सिट सुनिश्चित छ । तर, गाउँपालिकामा चार जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी पुष्पराज आचार्यले जानकारी दिए।