राजस्थानलाई हराउँदा कोलकाताको प्लेअफ सम्भावना जिवितै
राजस्थानलाई हराउँदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आइपिएल २०२२ मा प्लेअफ सम्भावना जिवितै राखेको छ।
गएराति राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै कोलकाताले प्ले अफको अंक गणीतीय सम्भावना कायमै राखेको हो।
राजस्थानले दिएको १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १९.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।
कोलाकाताका लागि नितिश राणाले ४८, रिन्कु सिंहले ४२, श्रेयर ऐयरले ३४ र बाबा इन्द्रजितले १५ रन जोडे।
ओपनर आरोन फिन्च ४ रनमा आउट भएका थिए।
राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र कुलदीप सेनले १–१ विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो।
राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले सर्वाधिक अर्धसतकीय इनिङस् खेले। ४९ बल खेलेका उनले ७ चौका र १ छक्कासहित ५४ रन बनाए। यस्तै शिम्रन हेटमायरले २७ रन बनाउँदा ओपनर जस बटलर २२, देवदत्त पाडिक्कल २, करुण नायर १३ र रियान पराग १९ रनमा आउट भए।
कोलकाताका टिम साउथीले २ तथा शिवम माभी, उमेश यादव र अनुकोल रोयले १–१ विकेट लिए ।
यो जितसँगै कोलकाता १० खेलमा ४ मा जित र ६ खेलमा हार सहित सातौं स्थानमा छ। प्लेअफमा पुग्न बाँकी चार खेलमा जित निकाल्नुको साथै अन्य टोलीको नतिजामासमेत भर पर्नुपर्ने हुन्छ।
नवप्रवेशी गुजरात ९ खेलमा ८ मा जित र १ मा हारका सर्वाधिक १६ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ। अर्को नवप्रवेशी लखनऊ १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोडेर दोस्रो स्थानमा छ।
राजस्थान रोयल्स १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ। हैदराबाद ९ खेलमा ५ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ। समान खेलबाट समान अंक जोडेको बेंगलोर १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ।
दिल्ली ९ खेलमा ४ मा जित र ५ मा हार सहित छैठौं स्थानमा छ । कोलकाता नाइट राइडर्स १० खेलमा ४ मा जित र ६ खेलमा हार सहित सातौं स्थानमा उक्लिएको छ। पन्जाब ९ खेलमा ४ मा जित र ५ मा हार सहित आठौं स्थानमा झरेको छ ।
३ जित निकालेको चेन्नई नवौं स्थानमा रहँदा १ जित निकालेको मुम्बई पुछारमा छ। एजेन्सी