थुप्रै कलाकारहरु काग्रेसमा प्रवेश
२० वैशाख, काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि आज कांग्रेस प्रवेश गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । स्थानीय तहको निर्वाचनको छेकोमा चर्चित कलाकारहरु पार्टी प्रवेश गरेका हुन् ।
चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका अभिनेता खड्काले लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई सघाउने निर्णयअनुसार पार्टी प्रवेश गरेको बताए । यसअघि भुवन स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा थियो । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको पहलमा भुवन, श्वेता र आफू कांग्रेस प्रवेश गरेको खड्काले बताए ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालकी अध्यक्ष कोइराला, निर्देशक नीर शाह र विजयेन्द्र रावत पनि सहभागी थिए ।