श्रीमतीलाई कुटपिट गरी घाईते बनाएका श्रीमानको मृत्यु
काठमाडौं २३ वैशाख । मादकपदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी घाईते बनाएका श्रीमानको गए राति ज्यान गएको छ। बढैयाताल गाउँपालिका–८ शितला बजारका काजिमान तन्डुकार अचेत अवस्थामा फेला परी उपचारको लागि लैजाने क्रममा बाटोमै ज्यान गएको हो।
हिजो राति काजिमान तन्डुकारले मादकपदार्थ सेवन गरी श्रीमती बीरमाया तन्डुकारलाई कुटपिट गरी घाईते बनाएको खबर प्रहरीले प्राप्त गर्यो। प्रहरी चौकी शितला बजारबाट प्रहरी टोली खटिई कुटपिट गर्ने श्रीमान तन्डुकारको खोजतलास गर्ने क्रममा घरभन्दा १ सय ५० मिटर टाढा अचेत अवस्थामा पल्टिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
अचेत अवस्थामा फेला परेका तन्डुकारलाई उपचारको लागि बर्दिया अस्पताल लैजाने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ।