दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट निर्वाचित
३ जेठ,काठमाडौं । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित भएका छन् ।
माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने नेकपा एमालेसँग पराजित भएका छन् ।
दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको क्षेत्रसमेत हो ।
यसपटक माओवादी केन्द्रले राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर स्वास्थ्य सेवाको क्षेत्रमा सक्रिय प्रकाश विष्टलाई उम्मेदवार बनाएको थियो ।
विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेललाई १ हजार १९८ मत अन्तरले हराए । पोखरेलले ५ हजार ७०० मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार जदगदम्बा कुमारी पोखरेलले ४ हजार ११९ मत मात्र पाइन् ।
अध्यक्ष पद माओवादी केन्द्रले जिते पनि उपाध्यक्ष पदमा भने नेकपा एमालेकी उम्मेदवार कमलापती चौधरी निर्वाचित भएकी छन् ।
६ हजार ६७४ मत पाएर उनी उपाध्यक्ष पदमा निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद भुसालले ५ हजार ४९६ मत पाए । जनमोर्चाका उम्मेदवार केशवराज खनालको पक्षमा ४ हजार ४६४ मत मात्र पर्यो ।