महिलाका बारेमा बजेटको सिद्धान्त र प्राथमिकतामा नपरेकोमा आपत्ति

जेठ, १७ काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको १०औँ अधिवेशनमा बजेटका प्राथमिकता तथा सिद्धान्तमाथि छलफल भइरहेको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।
आज बसेको प्रदेशसभाको दोश्रो बैठकमा सिद्धान्त र प्राथमिकतामा छलफल सुरू भएको हो । छलफलमा सुझाब राख्ने क्रममा प्रदेशसभा सदस्यहरूले महिलाका बारेमा बजेटको सिद्धान्त र प्राथमिकतामा नपरेकोमा आपत्ति जनाएका छन् ।
प्रदेशसभा सदस्य सुशीला बुढाथोकीले महिलामाथि सुदूरपश्चिममै सबैभन्दा बढी उत्पीडन हुने गरे पनि त्यसलाई न्यूनिकरण गर्ने कुनै योजना नआएको गुनासो गरिन् । महिलालाई आत्मनिर्भर नबनाएसम्म कुरीतिको अन्त्य हुन नसक्ने र आगामी बजेटमा महिला आत्मनिर्भरमुखी योजना ल्याउन उनले सुझाब दिइन् ।