कोरा भक्तपुर साइक्लिङ यात्रा सुरू
भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्वमाझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा ३०० बढीले साइकल यात्रा सुरू गरेका छन्।
पैदल र प्याडलमैत्री सहर मुख्य नाराका साथ साइकल कनेक्ट भक्तपुरको आयोजनामा आज बिहान साइक्लिङ च्यालेन्ज यात्रा कार्यक्रमअन्तर्गत ‘भक्तपुर कोरा २०२२’ सुरू भएको हो।
साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुनिल बालाले भक्तपुर, काठमाडौं, ललितपुर तथा काभ्रेको सिमानासम्मका पर्यटकीय एवं सम्पदास्थलको साइकलबाट परिक्रमा गर्ने गरी भक्तपुर दरबार स्क्वायरबाट ५०, ७५ र १०० किलोमिटरको तीनवटा रूटमा यात्रा सुरू गरेको जानकारी दिए।
च्यालेन्जमा ५० किलोमिटरमा आठ महिलासहित १३८, ७५ किलोमिटरमा दुई महिलासहित ४७, १०० किलोमिटरमा तीन महिलासहित १०७ र अन्य ३०० भन्दा बढीको सहभागिता छ।
‘पर्यटकको आगमन बढाउन र कोरोनाबाट मृत्यु भएका साइक्लिष्ट यमलाल रसाइको परिवारलाई सहयोग गर्न छ लाख रुपैयाँको कोष स्थापनाको लक्ष्य छ,’ अध्यक्ष बालाले भने।
कार्यक्रम संयोजक सुनिल ख्याजुले तीनवटा रुट बनाएर भक्तपुरका चारै नगरपालिकाका सहरदेखि ग्रामीण क्षेत्रसम्मका आकर्षक पर्यटकीय क्षेत्रको अवलोकन गरिने बताए। रासस