नदीले बगाउँदा दुई बालक बेपत्ता
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक बुधबार सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन्।
तेमाल गाउँपालिकाको वडा नम्बर २ स्थित लामबगरमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने सोम माझीका ११ वर्षीय छोरा समीर माझी र सोही ठाउँका कुलबहादुर माझीका छोरा ८ वर्षीय कान्छा माझी छन्।
पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएको दुई बालकको खोजीकार्य जारी रहेकोमा अझैसम्म पनि फेला नपारेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए।
बेपत्ता बालकको खोजीकार्यको लागि प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। रासस