पहिराले घर बगाउँदा म्याग्दीमा दुईको मृत्यु, तीन जना बेपत्ता
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ।
तीन जना बेपत्ता भएका छन्।
घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो।
घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ।
गोठे र उनकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन्।
घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन्।
स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन्।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको बताए।
घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ। रासस