Yeti Khabar

२०८१ मंसिर १८, मंगलवार - Tue Dec, 2024 -

चुनावको मुखमा एउटा दल छाडेर अर्कोमा प्रवेश गर्ने लहर

सप्तरीका शम्भु यादव २०७४ को स्थानीय चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट राजविराज नगरपालिकाको मेयरमा जितेका थिए । संघीय समाजवादी र राजपाबीच एकीकरणपछि जसपा नेपाल गठन भयो । २०७९ को स्थानीय चुनावमा जसपाले उसलाई टिकट दिएन । त्यसपछि उनी माओवादी केन्द्रमा प्रवेश गरे । माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनी दोस्रो स्थानमा सीमित भए ।

त्यसपछि उनी प्रदेशसभा सदस्यमा उम्मेदवार बन्ने योजनामा लागे । उनले माओवादी केन्द्रबाट प्रदेशसभामा चुनाव लड्ने प्रस्ताव जिल्लाका स्थानीय नेतासमक्ष राखे । तर, प्रदेशसभामा टिकट नपाउने थाहा पाएपछि उनी लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

कपिलवस्तुका दानबहादुर चौधरीले एमालेबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । मधेस आन्दोलनका कारण उनी सो पार्टीबाट राजीनामा दिएर महन्थ ठाकुर नेतृत्वको तत्कालीन तमलोपामा गएका थिए ।

तमलोपाबाट महिन्द्र राय यादव अलग भएपछि चौधरी उनकै साथमा लागेका थिए । तर उनी त्यहाँ पनि धेरै समय टिकेनन् । त्यहाँबाट विजयकुमार गच्छदारले गठन गरेको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकतिर उनी लागे ।

डा.बाबुराम भट्टराईले नयाँ शक्ति गठन गर्दा उनी त्यही पार्टीमा लागे । नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकीकरण भई समाजवादी पार्टी बन्यो । समाजवादी र राजपाबीच एकीकरण भएर जसपा बन्यो । यी सबैमा उनी बाबुरामको साथमा थिए ।

बाबुराम जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरे पनि उनी त्यसैमा लागे । जब नेपाल समाजवादी पार्टीमा गठबन्धनबाट टिकट पाउन नसक्ने संकेत पाए, उनी नेकपा एमालेमा प्रवेश गरे ।

रौतहटका अजय गुप्ताले नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका थिए । सो पार्टी विभाजन हुँदा उनी बद्री मण्डल नेतृत्वको नेपाल सद्भावना पार्टीमा थिए । उनले मेयरमा चुनाव पनि जितेका थिए । पछि उनी राजेन्द्र महतोको सद्भावना पार्टीमा प्रवेश गरे । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी हुँदै राजपा, त्यसपछि जसपा, अनि लोसपामा उनी सामेल भए । अहिले उनी लोसपा छाडेर एमालेका गएका छन् ।

तराई मधेसको राजनीतिमा दल फेरिरहने यी उदाहरणमात्र हुन् । लामो समय माओवादी केन्द्रमा रहेका रामसिंह यादव धनुषा–३ बाट टिकट पाउने सम्भावना नदेखेपछि एमालेमा प्रवेश गरेका छन् । सिरहाका विनोद यादव शिव सेना नेपाल, नेपाली कांग्रेस, फोरम, माओवादी हुँदै जनमत पार्टीमा प्रवेश गरेका छन् । उनी जनमत पार्टीबाट चुनाव लड्ने तयारीमा छन् ।

चुनावको मुखमा यसरी दल बदल गर्नु सामान्य भइसकेको छ । आफूले उम्मेदवारी नपाउने सुनिश्चित भएको अवस्थामा अवसरको खोजीमा अर्को दल चाहर्ने परम्परा नै बसिसकेको छ ।

सोमबारमात्र लोसपामा प्रवेश गरेका शम्भु यादव भन्छन्, ‘स्थानीय चुनावमा टिकट नदिएका कारण माओवादीबाट चुनाव लडेको थिएँ तर सदस्यता लिएको थिइनँ । अहिले टिकटको कारण भन्दा पनि पुरानै पार्टीमा फर्केको छु ।’

आफू सुरुदेखि मधेसवादमा विश्वास गर्ने भएकाले माओवादीमा गएर चुनाव मात्र लडेको, सदस्यता नलिएको उनले बताए । माओवादीको सदस्यता नलिएका कारण अहिले लोसपामा फर्किन सजिलो भएको उनको भनाइ छ ।

सप्तरीका माओवादीका नेताहरूका अनुसार शम्भु यादवले प्रदेशसभामा चुनाव लड्ने इच्छा देखाएका थिए । तर प्रदेशसभामा उमेश यादव स्वयं चुनाव लड्ने भएपछि उनी त्यहाँबाट लोसपातिर लागेका छन् । लोसपाले उनलाई प्रदेशसभामा उम्मेदवार बनाउने प्रतिबद्धता जनाएको बताइन्छ ।

सोमबारमात्र एमालेमा प्रवेश गरेका कपिलवस्तुका दानबहादुर चौधरी भन्छन्, ‘म आफ्नो घर फर्केको छु, मेरो राजनीति एमालेबाटै सुरु भएको थियो, २०५४ गाउँपालिका अध्यक्ष र २०५६ मा संसद एमालेबाटै जितेको थिएँ । मधेस आन्दोलनका कारण २०६४ मा एमाले छाडेर तमलोपामा गएका थिएँ ।’

जसपाबाट अलग भएर बडो उत्साहका साथ नेपाल समाजवादी पार्टी नेपाल गठन गरेको तर डा.बाबुराम भट्टराईले सो पार्टीलाई माओवादीमा मिसाएको कारण आफूले सो पार्टी छाडेको उनको भनाइ छ ।

उनले भने, ‘म पार्टीको बैठकमा सहभागी हुनका लागि काठमाडौँ आइरहेको थिएँ, अचानक बाबुरामले माओवादीसँग गठबन्धन गरेको समाचार बाहिर आयो अनि मेरा घरका सदस्यले कुनै पनि हालतमा माओवादी पार्टीमा नजानु भनेपछि म ब्याक भएर एमालेमा गएको हुँ ।’

एमालेबाट कपिलवस्तु–१ बाट चुनाव लड्ने तयारीमा रहेको बताउँदै उनले टिकटकै कारण भने आफूले नेपाल समाजवादी पार्टी नछाडेको दाबी गरे । रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com