बंगलादेशलाई हराउँदै श्रीलंका सुपर फोरमा

श्रीलंका एसिया कपको पुपर फोरमा प्रवेश गरेको छ।
बंगलादेशलाई दुई विकेटले हराउँदै श्रीलंका युएईमा जारी टी-२० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको हो।
जितको लागि १ सय ८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो।
श्रीलंकाका लागि ओपनर कुशल मेन्डिसले ३७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६० रन बनाए। यस्तै कप्तान दासुन शनाका ३३ बलमा ३ चौका र २ छक्कासहित ४५ रनमा जोडे।
ओपनर पाथुम् निशांकाले २० रन बनाउँदा डेब्यू खेल खेलेका असिथा फ्रेनान्डो ३ बलमा २ चौकासहित १० रनमा अविजित रहँदै सुपर फोर पक्का गराए।
बंगलादेशका लागि डेब्यू खेल खेलेका तीव्र गतिका बलर एबादत हसनले सर्वाधिक ३ विकेट लिए। तस्किन अहमदले २ विकेट लिए।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो ।
बंगलादेशका अफिफ हुसैनले सर्वाधिक ३९ रन बनाए। ओपनर मेहदी हसन मिराजले ३८ रन बनाउँदा महमुदूल्लाह रियादले २७ तथा कप्तान सकिब अल हसन र मोसाद्देक हसनले २४ रन जोडे।
श्रीलंकाका वानिन्दु हसरंगा र चामिका करुणारत्नेले समान २-२ विकेट लिए। दिलशान मदुशनका, महेश थिक्सना र असिथा फ्रेनान्डोले एक एक विकेट हात पारे।
यो जितसँगै श्रीलंका समूह बी को उपविजेता भएर सुपर चारमा प्रवेश गरेको छ। यसअघि लगातार दुई जित निकाल्दै अफगानिस्तान समूह विजेताका रूपमा अघिल्लो चरण प्रवेश गरिसकेको छ।
यता समूह ए बाट भारत अपराजित रहँदै सुपर फोरमा पुगिसकेको छ। आज हुने हङकङ र पाकिस्तानबीचको विजेता टोलीले सुपर फोरमा पुग्ने अन्तिम टोली हुनेछ। एजेन्सी