नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैटौँ महाधिवेशन हुने
काठमाडौँ, १८ भाद्र । नेपाल भरिका नगरपालिकाहरूमा कार्यरत कर्मचारीहरूको साझा पेशागत सङ्गठन नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैटौँ राष्ट्रिय महाधिवेशन यही आउँदो भाद्र २४ गते काठमाडौँमा सम्पन्न हुने भएको छ ।
केही समय अगाडि भएको संगठनको बैठकले महाधिवेशन काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको हो । सङ्गठनले यसअघि महाधिवेशन गर्ने पटक पटक निर्णय गरे पनि देशमा कोरोना सङ्क्रमणका कारण उक्त महाधिवेशन स्थगित गरिएको थियो ।
महाधिवेशनमा सङ्गठनका देशभरीका इकाई समितिबाट प्रतिनिधित्व रहने सङ्गठनका सचिव सितु प्रसाद श्रेष्ठले यती खबर लाई जानकारी दिनुभयो । श्रेष्ठले स्थानीय तहमा कार्यरत कर्मचारीहरू राज्यबाट सँधै बिभेदको मारमा पिल्सिन बाध्य भएको बताउँदै महाधिवेशन मार्फत आफूहरूले खेपिरहेको पीडालाई समाधान खोज्न पहल कदमि लिने बताउनु भयो ।
सङ्गठनका संयोजक राज कुमार थापाले महाधिवेशन सम्पन्न गर्ने यसअघिको बैठकको निर्णय अनुसार सम्पूर्ण प्रकृयाहरू अगाडि बढाइएको तथा महाधिवेशनको सम्पूर्ण तयारी सुरुगरिसकेको बताउनुभयो ।