मेघौली विमानस्थलको काम छिट्टै हुन्छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै सम्पन्न हुने बताएका छन्।
भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको मेघौली विमानस्थलको स्तरोन्नतिसम्बन्धी अन्तर्क्रियामा उनले ऐतिहासिक महत्व बोकेको यो विमानस्थलको काम तीव्र गतिमा अघि बढ्ने बताए।
विमानस्थल स्तरोन्नतिका लागि सर्वेक्षण गरेर प्राविधिक रिपोर्ट तयार गर्नका लागि प्रयोग गरिने ड्रोन उडाएर कामको शुभारम्भ गर्दै उनले छिट्टै विमानस्थलको कामले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको बताए।
भरतपुर विमानस्थलको बिस्तार र मेघौली विमानस्थलको धावनमार्गको कालोपत्रसहितको स्तरोन्नतिका लागि निरन्तर लागि रहेका यसै क्षेत्रका सांसदसमेत रहेका दाहालले दुई विमानस्थलको विकाससँगै यहाँको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने बताए।
उनले भने, ‘पर्यटन विकासको दृष्टिले मेघौलीको सम्भावना प्रचुर रहेको छ।’
निकुञ्जसँगै आदिवासी समुदायको संस्कृति र भेषभूषाले पर्यटनलाई आकर्षण गरेको उनले बताए।
दाहालले भने, ‘थारु, दराई र कुमालको संस्कृति एवं परम्परासँगै निकुञ्ज हुनुका कारणले अपार सम्भावना र चुनौती दुवै छ।’
वन्यजन्तुबाट जनताको सुरक्षाका निम्ति नयाँ प्रविधिको प्रयोग गर्ने विषयमा छलफल चलिरहेको उनले बताए।
उनले भने, ‘प्रधानमन्त्री, अर्थमन्त्री र वन तथा वातावरणमन्त्रीसँग कुराकानी भइरहेको छ। भारतमा जस्तै यहाँ पनि नयाँ प्रविधिको प्रयोग गर्ने कुरा भइरहेको छ।’ भारतमा वन्यजन्तुबाट जनताको सुरक्षाका लागि विशेष प्रकारको संयन्त्र विकास भएको भन्दै उनले यसका लागि केही करोड बजेट भए पुग्ने बताए।
आफूले नारायणी तटबन्ध, चक्रपथ, भरतपुरदेखि मेघौलीसम्मको सहायक राजमार्ग, मङ्गलपुरदेखि मेघौलीसम्मको सडकको स्तरोन्नतिलगायत महत्वपूर्ण विकास निर्माणमा जोड दिएको अध्यक्ष दाहालले बताए।
मेघौलीलाई विशेष आर्थिक र पर्यटन क्षेत्रका रुपमा विकास गर्ने काम तीव्र गतिमा अघि बढेको उनले बताए।आएका थिए।
कुनै बेला मेघौली विमानस्थलमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे। सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमिनमा फैलिएको छ।
विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ। विमानस्थलको धावनमार्गमा कालोपत्र गरेर ट्रमिनल व्यवस्थित गर्न लागिएको हो।
विमानस्थलमा होटल टाइगरटप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्तीपोलो खेलसमेत हुने गरेको थियो।
अहिले मेघौलीमा हात्तीपोलो खेल पनि बन्द भएको छ। मेघौलीदेखि जगतपुरसम्मका क्षेत्रमा राम्रा र ठूला ५० बढी पर्यटकीय होटल छन्। रासस