डाँकाको समूह र प्रहरीबीच भिडन्त

भदौ,१९ काठमाडौं । बारामा प्रहरी र डाँकाबीच भिडन्त भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँकाको समूह र प्रहरीबीच गएराति झन्डै साढे १२ बजे भिडन्त भएको थियो ।
उद्योगमा डकैती गर्न डाँकाहरुको समूह आएको सूचना पाएपछि पुगेको वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कमल बहादुर शाही नेतृत्वको प्रहरी टोलीसँग भिडन्त भएको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनु भयो ।
डाँकाहरुको समूहबाट एक राउन्ड र प्रहरीको तर्फबाट तीन राउन्ड गोली चलेको प्रहरी उपरीक्षक बोगटीले बताउनु भयो । डाँकाहरुको रड प्रहारबाट वरिष्ठ प्रहरी नायब निरीक्षक शाही घाइते हुनुभएको छ । उहाँको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको छ ।