Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

भारतीय सेनाध्यक्ष पाण्डेद्वारा चार वटा घोडासहित २२ करोड ३८ लाखको सैनिक सामग्री हस्तान्तरण

काठमाण्डौ – भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित २२ करोड ३८ लाख रुपैयाँको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको छ । विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णण अनुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच उहाँले सामग्री हस्तान्तरण गर्नुभएको हो ।

समारोहमा उहाँले प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गर्नुभएको थियो । निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपुर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने गाडी (माइन प्रोटेक्टेड भेइकल) तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सहयोगस्वरुप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो । यसअघि सैनिक मुख्यालय जङ्गी अड्डामा आजै प्रधानसेनापति प्रभुराम शर्मासँग उहाँले भेटवार्तासमेत गर्नुभयो । पाँच दिने भ्रमणका लागि आइतवार नेपाल आउनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा आज बिहान सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो ।

उहाँले आजै जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गर्नुभयो । त्यसअघि बिहान सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा पुष्पहार समर्पण गरी भारतीय सेनाध्यक्ष पाण्डेले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । आज अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहमा उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुहुने कार्यक्रम छ ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिति रहने जनाइएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । २००७ सालमा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो । २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गर्नुभएको थियो ।

अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको हो । अहिलेसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले सम्मान प्राप्त गरिसकेका छन् ।

यस्तो छ भ्रमण तालिका

पाँच दिने भ्रमणका क्रममा पाण्डेले मङ्गलवार भोलि बिहान माउन्टेन फ्लाइट गर्नुका साथै शिवपुरीमा रहेको नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।

यस्तै अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उहाँले शिष्टाचार भेट गर्दै हुनुहुन्छ । उहाँले शनिवार बेलुका पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।

भारतीय सेनाध्यक्ष पाण्डेले बुधवार मुक्तिनाथको दर्शन गर्ने तथा पोखरामा रहेको मध्य कमाण्ड हेडक्वाटरको निरीक्षण भ्रमण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँले त्यही दिन वसन्तपुरमा रहेको दरबार स्क्वायरको समेत भ्रमण गर्नुहुनेछ । बिहीवार भने नेपालमा रहेको भारतीय राजदूतावासको भ्रमण गरी उहाँ स्वदेश फर्कनुहुने जनाइएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com