बेलायत पठाइदिन्छु भन्दै १३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ
काठमाण्डौ – बेलायत पठाइदिन्छु भनी १३ लाख ४६ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिन्छु भनी ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भइ काठमाण्डौ कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई हिजो पक्राउ गरेको हो ।
कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’मा बेलायतलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद १३ लाख ४६ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गर्ने क्रममा काठमाण्डौ महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ । रासस