कैलाली बाढी : ‘बस्तुभाउ पनि खान नपाएर मर्ने भए’
कैलाली – कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन् । जिल्लाको भजनीमा शनिवार आएको बाढीले सयौँ परिवार बस्तुभाउसहित सडकमा बसिरहेका छन् । सडकमा मानिससँगै सयौँ बस्तुभाउ पनि सडकमा बाँधिएका छन् ।
बाढीका कारण तीन जनाको ज्यान गएको छ । बाढीमा डुबेर भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको ज्यान गयो । यस्तै धनगढी उपमहानगरपालिका–१३ की १९ वर्षीया नवीना चौधरीको पनि डुबेर ज्यान गयो ।
बाढीले सबैभन्दा बढी भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । घर बाढीमा डुबेको छ, घरमा भएका अन्नपात, लुगाकपडा बाढीमा बगेका छन् भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको छ । बाढीले विस्थापित भएका नागरिकलाई आफ्नो पेट भर्न र बस्तुभाउलाई के खुवाउने भन्ने पिर परेको छ । सडकमा बसेका नागरिक चाउचाउ र चिउराका भरमा बसेका छन् भने बस्तुभाउलाई खुवाउने आहारा जोहो गर्न सकिएको छैन ।
भजनी–८ सोनाहाफाँटा खल्लाटोलीकी तुल्सीदेवी विक बस्तुभाउसहित हुलाकी सडकमा बस्नुभएको छ । विक आफू पनि चाउचाउ र चिउराको भरमा बसिरहनुभएको छ भने उहाँका बस्तुभाउ पनि भोकै छन् । उहाँलाई आफूले के खाने, बस्तुभाउलाई के खुवाउने तनाव भएको छ । ुबस्तुभाउका लागि जोहो गरिराखेको गहुँको भुस्सा बाढीमा बग्यो, धानखेत अहिले पनि जलमग्न छ । अब घाँस पनि बाढीले नोक्सान भयोु, उहाँले भन्नुभयो, अब आफू पनि भोकै, बस्तुभाउ पनि चार दिनदेखि सडकमा भोकै छन् ।
वडा नं ८ कै शान्तिदेवी चौधरी पनि बस्तुभाउसहित सडकमा बसिरहनुभएको छ । उहाँले बालबालिका, वृद्धवृद्धा सबै भोकै रहेको जनाउँनुभयो । वडा नं ८ कै शारदादेवी चौधरीका छ बाख्रा र एक गाई छ । उहाँको परिवार बस्तुभाउसहित चार दिनदेखि सडकमा बसिरहेको छ । बस्तुभाउसँगै बस्दा दुर्गन्धित हुनुका साथै पशुका लागि आहाराको समस्या भएको छ । प्रायजसोका बस्तुभाउ पनि सडकमै छन्, सबैलाई बस्तुभाउको आहारा व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छु, उहाँ भन्नुहुन्छ, हामी त सहयोगीहरूले दिएका चाउचाउ र चिउराले ज्यान धानिरहेका छौँ, तर बस्तुभाउलाई के खुवाउनुरुु
शनिवार विस्थापित हुनुभएकी तुल्सादेवी धमालाको परिवार पनि अझै घर फर्कन सकेको छैन । उहाँहरू पनि बस्तुभाउसहित सडकमा बस्नुभएको छ । विस्थापित नागरिकले गाइभैँसी सडकमा भोकै बाँध्नुपरेको छ। बाढीले धानबाली नष्ट गर्नुका साथै घाँसपातसमेत नष्ट भएको छ । यसले बस्तुभाउ पालकलाई बढी समस्या भएको छ ।
खुला आकाशमा सडकमै बसिरहनुभएकी इसरा सुनारको परिवारको पनि बिचल्ली छ । उहाँको घरखेत सबै बाढीमा मिसिएकाले उहाँको परिवार र उहाँले पालेका बस्तुभाउको आहारामा समस्या भएको छ । पशुका लागि पराल, गहुँको भुस्सा गोठमा राखेकी थिएँ, सबै बाढीमा मिसियो, मेरो त गोठ पनि रहेनु, उहाँले भन्नुभयो, सम्पत्तिका नाममा बचेका यी बस्तुभाउ हुन्, बस्तुभाउ पनि भोकले मर्ने भए ।
भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसी बाढीले पशुबस्तुतर्फ क्षति भएका विवरण आइरहे पनि कति क्षति भयो भनी भन्न सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले पशु बगेका, मरेका कुरा आइरहे पनि प्रभावित क्षेत्रमा अझै जान नसकिएकाले अब तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो । हामी पशुभन्दा मानिस कसरी जोगाउने भनी उद्धारमा खटेका छौँ, अझै मानिसकै उद्धार भइरहेको छु, उहाँले भन्नुभयो, पहिलो चरणमा मानिस उद्धार र राहतका काम भइरहेकाले पशुको आहाराबारे केही उपाय नै छैन । पालिकामा भएको आहाराको स्रोत सबै बाढीले नोक्सान गरेकाले पशुको आहारा व्यवस्थपान गर्न सक्ने अवस्था छैन ।
पशु शाखा प्रमुख जैसी आजदेखि पशुतर्फ भएको क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरिएको बताउनुभयो । अझै गाउँ जलमग्न छन्, गाउँमा गएर विवरण लिनसक्ने अवस्था छैनु, उहाँले भन्नुभयो, धेरै मानिसका बस्तुभाउ बगेका, बङ्गुर मरेका, कुखुरा मरेका खबर आएका छन् । अब हामी तथ्याङ्क लिन्छौँ ।
भजनी नगरपालिकाले बाढीबाट प्रभावितलाई सहयोग गर्न अपिल गरेको छ । नगरपालिकाले एक सूचना जारी गरी नगरपालिकाका सबै वडामा बाढीले क्षति पुर्याएका कारण त्यहाँका नागरिकलाई राहतका लागि सहयोग गर्न अपिल गरेको छ ।रासस