पहिरोले दशैँका बेला घर छाडेर भागाभाग
बाग्लुङ – बाग्लुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दशैँको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् ।
भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षापछि जमिन बग्न थालेको थियो । निरन्तर बगिरहेको जमिनमा दशैँका बेला भइरहेको भारी वर्षाले झन् असर गरेको छ । जमिन बग्दा सडक, ठूला पिपलका रुखसमेत बगेका छन् । पहिरो खस्न थालेपछि स्थानीय किसानले लगाएका सुन्तलाको बगान, कुखुरापालन फार्मलगायत गोठ पुरिएका छन् । कतिपय घर चिरा परेका छन् भने केही किसानका घर र गोठ भत्केका छन् ।
‘पहिला एउटा पाटोमा मात्रै ठूलो पहिरो थियो, अहिले अर्को पाटो पनि बग्यो’, वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भन्नुभयो, ‘सुरक्षित छन् भनेका घर र यहाँ रहेका पशुपक्षीको फार्मसमेत पुरिने अवस्थामा पुगे ।’
भारी वर्षा र पहिरोसँगै खसेको भेल गाउँ पसेको छ । ‘आफ्नो घर छ तर पहिरोले राज गरेको छ, अर्कैको घरमा दशैँ मनाउनुपर्यो, वासविनाको दशैँ खल्लो भयो’, स्थानीय कुलराज शर्माले भन्नुभयो, ‘छिमेकीका घर पनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन्, हाम्रो दशैँ भागाभागमै बित्यो ।’ यो बस्तीका खानेपानीको ट्याङ्कीसमेत बगेपछि स्थानीयवासी चिन्तामा छन् ।
पहिरोले शर्मासहित दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको अर्का स्थानीयवासी विष्णु पौडेलले जानकारी दिनुभयो ।
जमिन चिरा परेको ठाउँ हेर्दा थप सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उहाँले बताउनुभयो । पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको छ ।
‘यो सङ्केत हेर्दा यहाँको बस्ती नै जोखिममा भयो, पहिलाभन्दा अब धेरै घर विस्थापित हुने भए’, पौडेलले भन्नुभयो, ‘अर्बौँ रुपैयाँ खर्चेर पनि रोकथाम हुने अवस्था छैन ।’ बगेको पहिरोले जैमिनी नगरपालिका वडा नं १ को ओडार भन्ने ठाउँमा पनि दर्जन घर विस्थापित भएका छन् । उनीहरूले पनि यो वर्षको दशैँ आफ्नो घर छोडेर अर्कैको घरमा मनाए । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका–१ मा पर्छ । रासस