कहिले बाहिरिन्छ मनसुन?
नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो। तर पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ।
अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए।
जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन सुरू भएको थियो।
हाल नेपालमा मध्य–पश्चिम बंगालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केही दिन लम्बिएको मौसमविद् पौडेलले बताए।
उनले भने, मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ। यो वर्ष मनसुन बाहिरिने क्रममा बंगालको खाडीबाट आएको न्यून चापीय क्षेत्रको असरले लम्बिएको हो।
अहिले राजधानी काठमाडौं, पश्चिमको पोखरा (कास्की) लगायत देशका पूर्वी भेगको मौसम सामान्यतया सफा छ। पश्चिमका कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले वर्षा भइरहेको र मनसुन पनि सोही क्षेत्रमा केन्द्रित रहेको मौसमविद् पौडेलले बताए। उनका अनुसार आगामी मंगलबारदेखि मौसममा सुधार आउनेछ।
मनसुन रहँदासम्म पानी पर्ने सम्भावना रहे पनि लगातारको झरी पर्दैन।
महाशाखाको पछिल्लो तीन घन्टाको विवरणमा डडेलधुरामा १३ मिलिमिटर, बैतडीमा १८ मिलिमिटर, बर्दियामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ।
मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ। वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो आएको छ।रासस