भूकम्पको पीडा : आमाको मुख हेर्नै नपाई बिदा भए प्रेम
२३ कात्तिक, डोटी । डोटी पूर्वीचौकी गाउँपालिका-३, ठाँडागाउँका ५० बर्षीय प्रेम बोहरा कलिलै उमेरदेखि रोजगारीका लागि भारतको मुम्बई जाने गर्थे । भारतमा नोकरी राम्रै भएका कारण उनी घरमा थोरै र भारतमा धेरै समय बिताउँथे ।
तीन वर्षपछि उनी मंगलबार साँझ आफ्नो गाउँमा पाइला टेके । सँगै आएका साथीहरु कैलालीको धनगढीतिरै अलमलिए पनि प्रेम धनगढीतिर नरोकिएर सिधै घर गए । चार छोरी र एक छोराका बुवा प्रेमलाई सायद आफ्ना सन्तानहरुको मायाले बाटोमा अलमलिन दिएन । छोराछोरीको अनुहार हेर्ने हतारका साथै अन्दाजी ८० बर्षीया आमाको आशिर्वाद लिने हतारो पनि उनीसंग थियो ।
साँझपख उनी घर पुगे, तर पल्लो घरमा रहेकी आमालाई भेट्न गएनन् । किनकी बाहिरबाट आएका छोराले मंगलबार आमाबुबाको मुख हेर्न नहुने सामाजिक मान्यता यस क्षेत्रमा छ । त्यसैले प्रेमका छोरा पनि हजुरआमासँगै पल्लो घरमा बसे ।
यात्राबाट थाकेर आएका प्रेमले भोलि बिहानै आमाको मुख हेर्ने र आशिर्वाद लिने सोच बनाए । उनले थकाइका कारण श्रीमती र छोरीहरुसँग पनि राम्रोसंग भलाकुसारी गरेनन् । बिहान उज्यालो त भयो तर, प्रेमका आँखा खुलेनन् । राति २ बजेर १२ मिनेटमा आएको ६.६ म्याग्निच्युडको भूकम्पले उनको ज्यान लियो ।
मंसिरमा छोराको बिहे गर्ने सपना बुनेर प्रेम घर आएका थिए । त्यसका लागि मुम्बईमा आफूले काम गर्ने ठाउँमा गाउँकै एक जनालाई सट्टामा राखेर आएका थिए । आफूलाई काम दिने मालिक राम्रो भएका कारण उनी त्यो नोकरी गुमाउन चाहदैनथे । त्यसैले हरेक पल्ट घर आउँदा उनले सट्टामा अर्को मान्छे खोजेर राख्थे ।
प्रेमसंगै उनकी १२ बर्षीया छोरी तुलक्षी बोहराको पनि भूकम्पले ज्यान लियो । मुम्बईबाट आएका काकालाई भेट्न प्रेमको घर पुगेकी महावीर बोहराकी १३ बर्षीया छोरी धनसरी बोहराको पनि विनाशकारी भूकम्पले ज्यान लियो ।
भूकम्पले एउटै गाउँका ६ जनाको ज्यान लिएपछि गाउँ शोकमा डुबेको छ । स्थानीय रामबहादुर बोहराका अनुसार गाउँमा रुवाबासी मात्रै छ । ८ घर पूर्ण रुपमा क्षति भएका र केही घरहरु जीर्ण भएर बस्न नमिल्ने भएका रामबहादुरले वताए ।
उनले भने ‘अहिले नेपाली सेना, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको टोलीले त्रिपाल हालेर अस्थायी बस्ने व्यवस्था गरेको छ ।’अनलाइन खबर