ट्रक र भ्यान ठोक्किँदा एक जनाको मृत्यु

पुष,२९ काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तपश्चिम) को सुनवलमा आज बिहान ट्रक र भ्यान ठोक्किँदा एक जनाको ज्यान गयो । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ मा रहेको अल्कत्रेडाँडामा ना ४ च ९६३१ नम्बरको भ्यान र ना ५ ख ९७१५ नम्बरको कोइला बोकेको ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका भ्यान चालक चितवन भरतपुर महानगरपालिका–१४ का ५२ वर्षीय राजकुमार विकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते भरतपुर महानगरपालिका–२३ का २५ वर्षीय शिव श्रेष्ठको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।