Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

दाइजोको ऋण तिरेरै बित्ने भो जिन्दगी!

म उनको आँगनमा पुग्दा राति सुत्न ओछ्याउने पराल घाममा सुकाउँदै थिइन् बेचनी सदा। उनलाई अचेल रातभर निद्रा पर्दैन।
पुसभरि जाडोले निद्रा परेन। माघ लागेपछि छोरीको बिहेको चिन्ताले पिरोलेको छ।

दुई छोरीको बिहेमा भएको खर्चले थपिएको ऋणको भारी अझै बाँकी छ। फेरि अर्की छोरीको बिहे गर्नु छ। ऋणको भारी अझै गह्रौं हुनेवाला छ।

बेचनी धनुषाको नगराइन नगरपालिका–२, जटहीस्थित मुसहरी टोलकी बासिन्दा हुन्। उनका श्रीमान शुकदेव सदा मजदुरी गर्छन्। जीवन गुजारा रोजगारी मजदुरी नै हो।

सदा दम्पतीका छ जना छोरी छन्। दुई जनाको बिहे भयो, चार जना बाँकी छन्।
‘दाइजो नदिई छोरीको बिहे हुँदैन। माइली छोरीको बिहे गर्दा सयकडा पाँच रुपैयाँले लिएको साढे तीन लाख कर्जा छ। महाजनले छिटो तिर भन्छन्,’ बेचनी भन्छिन्, ‘साहिँलीको पनि बिहे गर्ने उमेर भइसक्यो। पेट पाल्ने कि, बिहेबारी गर्ने कि, कर्जा तिर्नेस न निद्रा आउँछ, न खाना रुच्छ।’

२०७७ सालमा माइली छोरीको बिहे गर्दा डेढ लाख रुपैयाँ खर्च भयो।
त्यसअघि २०७६ साल फागुनमा जेठी छोरीको बिहेको दिन थियो। अन्तिम तयारी पूरा भएको थियो। जन्ती र निम्तारुहरूका लागि भोजको परिकार धमाधम तयार हुँदै थियो। जन्तीको प्रतीक्षा हुन थालेको थियो।

बेहुला थिए धनुषाधाम नगरपालिका, भुतही पर्टेवाका सुशील सदा। अचनाक बेहुलाका पक्षबाट फोन आयो। सन्देश थियो– बिहेमा मोटरसाइकल दिनुपर्छ र आजै दिनुपर्छ।

बेहुलीका बाबुले मोटरसाइकल ल्याउन समय लाग्ने भएकाले भोलि दिने बाचा गर्दै आज बिहेका लागि आउन आग्रह गरे।
उताबाट जवाफ आयो– आजै चाहिन्छ, नदिने भए बिहे हुँदैन।
बेहुली पक्षले मोटरसाइकल भोलि घरमै पुर्‍याइदिने वाचा गर्दै बिहे नटुटाउन बिन्ती गर्‍यो।

अँ हँ, बेहुला पक्षले सुन्दै सुनेन। त्यसपछि फोन सम्पर्क टुट्यो। रात पर्‍यो। बरियात आएन। राति दुई बजेतिर बेहुलासँग फोन सम्पर्क भयो। उनले मोटरसाइकल नपाउने भएपछि नआएको भन्ने जवाफ दिए।

‘इन्डियाबाट मान्छे बोलाएर पण्डाल सजाएका थियौं। स्वयंबर गर्न मञ्च र मडवा तयार थियो। आफन्त र गाउँले सबै नाचगान गर्दै थियौं। छोरी पनि सजिएर बसेकी थिई, त्यो दिन स्मरण गर्दै बेचनीले भनिन्, ‘भोज तयार थियो। बिहेका दिन नै मोटरसाइकल चाहिन्छ भने, हामीले तुरून्तै किन्न सकेनौँ। त्यही निहुँमा बेहुला आएनन्।’

छोरीको बिहे रोकियो।

सदा दम्पतीले अर्को केटा खोजेर छोरीको बिहे गरे। त्यसबेला आइपरेको भुक्तमानबारे बैचेनीले भनिन्, ‘हतारहतार केटा खोजेर छोरीको बिहे गर्‍यौँ। सबै गरेर साढे तीन लाख रुपैयाँ खर्च भयो।’

पहिला तय भएको बिहे टुटेपछि समाज बस्यो। अगुवाहरूको छलफलले केटा पक्षलाई बिहेका लागि भएको खर्च र बिहे टुटाएबापत जरिवाना तिराउने निर्णय गर्‍यो। सदा दम्पतीले थोरै राहत हुने ठाने तर केटा पक्षले पैसा तिरेन।

सदा दम्पतीकी जेठी छोरी मायाले भनिन्,‘पत्रकार, हाकिम र धेरैजनाले पैसा दिलाइदिन्छौँ भने। हामी काठमाडौंसम्म पनि धायौं तर केही पाएनौं।’

यो मुसहर टोलमा ७० घर परिवार बसोबास गर्छन्। अधिकांश घर फुसका र बढीमा तीन कोठासम्मका छन्। घरले ओगटेको बाहेक जग्गा छैन। कतिपय परिवारमा १० जनासम्म जहान छन्। ती सबै त्यही एउटा घरमा गुजारा गर्छन्।

पारिवारिक अवस्था जेजस्तो भए पनि बेहुला पक्षले मागेको दाइजो नदिए छोरीको बिहे हुँदैन।

टोलकी बासिन्दा सुनैना सदाले भनिन्, ‘सासूससुरा, आमाबाबु, छोराछोरी, देवरदेवरानी सबै यिनै दुईटा कोठामा अटाएर बसेका छौँ। ऋण लागेको छ। जग्गा किनेर घर बनाउने पैसा छैन।’

एक वर्षअघि छोरीको एउटी छोरीको बिहेमा डेढ लाख रुपैयाँ खर्च भएको सुनैनाले बताइन्। अर्की छोरीको बिहे गर्ने तयारी हुँदैछ। देशको कानूनअनुसार हेर्दा बिहे गर्ने उमेर भएको छैन।

किन छिटै बिहे गरिदिन लाग्नुभएको तरु सुनैनाले भनिन्, ‘आजकालका छोरीहरू १५–१६ वर्ष नपुग्दै बहकिन्छन्। हाम्रोमा कमै उमेरमा बिहे गरिदिने चलन छ।’

जेठी छोरीको बिहेमा साहुसँग लिएको कर्जा तिर्न बाँकी रहेको र ब्याजले ऋण बढ्दै गएको उनले बताइन्। उनले भनिन्, ‘जेठी छोरीको बिहेकै कर्जा तिरिसकेको छैन, माहिलीको बिहे गर्न खोज्दैछौँ।’

स्थानीयवासीहरूका अनुसार यो मुसहरी टोलमा दाइजो माग्ने चलन भित्रिएको धेरै भएको छैन, २० वर्ष जति भयो होला। त्यसअघि बहुलीका आमाबाबुले आफ्नो क्षमताअनुसार केही फर्निचर र घरायसी प्रयोगका केही सामान दिँदा हुन्थ्यो।

कसैकसैले बेहुलालाई एउटा साइकल पनि दिन्थे।

करिब २० वर्षयता केटा पक्षले तोकेरै दाइजो माग्न थालेको छ। मागेजति नदिए छोरीको बिहे नहुने भय बढेको छ। मुसहरी टोलका छोरीको बिहेमा दाइजोमा मोटरसाइकल दिनु अनिवार्यझैँ भएको छ।

मुसहरी टोलकै बासिन्दा उर्मिला सदा भन्छिन्, ‘अहिले त केटाले मोटरसाइकल नदिए बिहे नै गर्दिनँ भन्छ। नगद पनि माग्छ, कम्तीमा एक लाख रुपैयाँ दिनुपर्छ भन्छ।’

उनले केटापक्षले मागेको दाइजो दिन नसक्दा आफ्नी छोरीको बिहे हुन नसकेको बताइन्।
‘अहिले नै टाउकामा कर्जा छ, बिहेमा दाइजो दिने पैसा कहाँबाट जुटाउनु! यो जुनीमा कर्जा तिरेरै नसक्ने भइयो,’ उनले भनिन्, ‘दाइजो दिन नपर्ने कानून चाहियो, नभए हामी मर्ने भयौँ।’

मुसहरी टोलका बासिन्दाहरूका अनुसार उनीहरूको समुदायमा दाइजो अन्तबाट सरेर आएको हो। अहिले त डढेलो जसरी फैलिएको छ।
कम्तीमा ७० घरपरिवार रहेको मुसहरी टोलमा कुनै पनि छोरीले आठ कक्षाभन्दा माथि पढेका छैनन्। साहै्र थोरैले आठ कक्षा उत्तीर्ण गरेका छन्। धेरै छोरीको त यसपछि बिहे हुन्छ। बिहे नभएकाले पनि पढाइ छोड्छन्।

मधेसमा मुसहर समुदाय सामाजिक र आर्थिक रुपमा पिछडिएका समुदायहरूमध्ये पर्छ। धेरै जसोले पढ्न पाएका छैनन्। रोजगारीका नाममा मजदुरीबाहेक अर्को केही छैन।

पूर्ववडासदस्य कासोदेवी सदाका अनुसार जसोतसो गुजारा चलाइरहेका मुसहर समुदाय दाइजोको भारीले थिचिएको छ।
‘अचेल केटालाई फलदानमै सुनचाँदी दिनुपरेको छ। स्वयंवरमा पनि सुन दिनुपर्छ,’ उनी भन्छिन्, ‘दाइजोमा गरगहना, मोटरसाइकल र नगद दिनु मुसहर समुदायको बाहिरको कुरा हो तैपनि छोरीको बिहे त गर्नु छ।’

यस्तो विसंगत सामाजिक अवस्थाप्रति अहिलेसम्म कसैको ध्यान नगएको कासोदेवीको गुनासो छ।
‘चुनावका बेला नेता र हाम्रा जातका अगुवाहरूसामु दाइजोको समस्या सुनाएका थियौँ। त्यति बेला सबैले केही न केही गर्छौं भने। अहिले कोही केही बोल्दैन,’ उनले भनिन्, ‘छोरीको बिहेमा हुने खर्चको कर्जा तिर्दातिर्दै जीवन सकिन्छ।’

उनले आफ्नी नातिनीको बिहे गर्ने बेला भएको तर दाइजो जुटाउने पैसा नभएको बताइन्। उनले प्रश्न गरिन्, ‘सुत्ने घर छैन, ओढ्ने लुगा छैन, दाइजो कहाँबाट दिनेरु’

उनका अनुसार गाउँका साहुले सयकडा मासिक पाँच रुपैयाँ व्याजमा कर्जा दिन्छन्। यो व्याज ६० प्रतिशत हो। मागेको दाइजो नपाउँदा छोरीलाई ससुराल (बिहे गरेर गएको घर) मा हिंसा सहनु परेको छ।

नेपालमा दाइजो लेनदेन गर्नु फौजदारी कसुर मानिएको छ। मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १७४ को २(१) मा
‘विवाहमा लेनदेन गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्ने’ प्रावधान छ।
दाइजोका घटना धेरै भए पनि उजुरी नगन्य रहेको उच्च अदालत जनकपुरकी अधिवक्ता रिंकु यादवको भनाइ छ।

‘पहिले पनि दाइजो लेनदेन हुन्थ्यो तर बाहिर आउँदैनथ्यो। दाइजोका कारणले महिलाको हत्या हुन थालेपछि यसविरूद्ध आवाज उठ्न थाल्यो,’ उनले भनिन्, ‘जाहेरी पनि आउन थालेको छ तर प्रहरी र अदालतले प्रमाण खोज्छ। प्रमाण पुग्दैन र केस दर्ता हुँदैन।’

पेसाअनुसार दाइजोको दर समाजले तोकिदिएको उनको भनाइ छ।

‘केटा डाक्टर छ भने ६० लाख, इन्जिनियर छ भने ३५ लाख अर्थात् पेशा र आर्थिक हैसियतको आधारमा दाइजोको रेट तोकिएको छ। समाजमा दाइजोलाई प्रतिष्ठासँग जोडिन्छ,’ रिंकु भन्छिन्, ‘नियन्त्रणका लागि जनचेतना फैलाउनैपर्छ। दाइजो लिनु हुँदैन भन्ने महसुस गर्न जरूरी छ। बुहारीलाई पनि छोरीसरह परिवारले स्वीकार गरेमा दाइजो केही हदसम्म घट्न सक्छ।सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com