Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

सडकमा फोहोर फालेको भन्दै एनआईसी एसिया बैंकलाई ११ हजार जरिवाना

७ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले कार्यालयबाट निस्केको फोहोर सडकमा फालेको भन्‍दै एनआईसी एसिया बैंकलाई ११ हजार रुपैयाँ जरिवाना गरेको छ ।

एनआईसी एसिया बैंकले तेस्रो पटक कार्यालयबाट निस्केको फोहोर सडकमा फालेपछि बैंकलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको सरसफाई व्यवस्थापन महाशाखाका अधिकृत सर्फुदिन मियाँले जानकारी दिए ।

यसअघि पहिलो पटक चेतावनी दिएर छोडिएको थियो भने दोश्रो पटक ५ हजार रुपैयाँ जरिवाना तिराइएको उनले बताए ।
झण्डै डेढ महिनादेखि महानगरले जथाभावी सडक तथा सडकपेटीमा फोहोर गर्नेलाई जरिवाना गर्दै आइरहेको उनको भनाइ छ । अहिलेसम्म भएका जरिवानामध्ये यो सबैभन्दा बढी जरिवाना हो ।

महानगरले साइरनसहितको ट्याक्टर फोहोर संकलनका लागि पठाउने गरे पनि विभिन्न संघ संस्था, व्यापारी तथा व्यक्तिहरुले सडकपेटी, किनार तथा खाली जग्गामा फोहोर फालिदिने गरेका छन्, जसले गर्दा वीरगञ्ज फोहोरी सहरको रुपमा बदनाम भइरहेको वीरगञ्ज महानगरपालिका स्वच्छ, सफा सुन्दर हराभरा अभियानका संयोजक जय प्रकाश खेतानले बताए ।

जिम्मेवार संघसंस्था तथा व्यक्तिले जथाभावी फोहोर गरिदिँदा फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बनेको जथाभावी फोहोर फालेको पाइएमा ५ सय, १ हजार, ५ हजारदेखि ११ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको महानगरपालिकाले जनाएको छ ।

०७५ सालमा ल्याइएको वीरगञ्ज महानगरपालिकाको फोहोर मैला व्यवस्थापन ऐनले महानगरपालिकाले तोकी दिएको समय र स्थान बाहेक अन्यत्र फोहोरमैला निस्कासन गर्न निषेध गरेको छ ।

त्यस्तो कसुर गर्ने व्यक्तिलाई पहिलो पटक ५ हजार, दोस्रो पटक १० हजारसम्म र तेस्रो वा त्यो भन्दा बढी पटक अटेरी गरेको खण्डमा १५ हजारका दरले जरिवाना हुने उल्लेख छ ।

घर, कम्पाउन्ड वा परिसरको फोहोरमैला सडक वा अन्य सार्वजनिक स्थलमा जथामावि राख्न, फाल्न वा थुपार्न निषेध गरिएको छ । त्यसो गरेमा ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ । अनलाइन खबर बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com