कर्णालीका नेताहरूको बयान- हामी यसकारण काठमाडौं गयौँ
कर्णालीका विद्यार्थी सुविधासम्पन्न शहरमा बसेर उच्च शिक्षा पढ्छु भनेर काठमाडौं जान्छन् । काठमाडौंमा व्यापार गर्छु र कमाउँछु भन्ने सपना बोकेर जानेहरू पनि छन् । राजधानी घुमेर फर्किन्छु भनेर काठमाडौं जानेहरू पनि छन् र ‘कर्णालीमा बस्न उचित छैन, काठमाडौंमै बस्छु’ भनेर बसाईं सर्नेहरू पनि छन् ।
यी त रहरसँग शहर पुग्ने कर्णालीका पात्रहरू हुन् ।
यहाँ बिमार निको भएन, काठमाडौं पुगेर निको भएर आउँछु, विदेशबाट बाकसमा फर्किएका आफन्तहरूलाई घरमा लिएर आउँछु, बारीको उब्जनीले पुगेन, काठमाडौंमा मजदुरी गरी कमाएर घरखर्च ल्याउँछु जस्ता विभिन्न बाध्यता बोकेर काठमाडौं पुग्नेहरू थुप्रै छन् ।
रहर र बाध्यता बोकेर काठमाडौं जानेहरूका भिडमा कर्णालीका नेताहरू पनि छन् । तर, उनीहरूसँग यस्तो कुनै रहर र बाध्यता भने थिएन । त्यसो भए कर्णालीको विकास गर्छु भनेर राजनीति गरेका नेताहरू काठमाडौंमा किन बस्नुपर्यो त र?
कर्णाली उत्सवअन्तर्गत सुर्खेतमा ‘कर्णालीदेखि काठमाडौंसम्म’ सत्रमा गरिएको बहसमा कर्णालीका नेताहरूले काठमाडौं बस्नुको आफ्नो तर्क सुनाए ।
‘कर्णालीमा दुःखका कथा मात्र लेखिँदैन, पीडाका गीत मात्र गाइँदैनन्, कर्णालीका सपनाहरू फोक्सुण्डोमा डुबेका छैनन्, कर्णाली सम्भावनाको सगरमाथा हो,’ कर्णाली प्रदेशका पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता नरेश भण्डारी भन्छन्, ‘म भागेर काठमडौं गएको होइन, कर्णालीको विकासका लागि काठमाडौंमा कर्मथलो बनाएको राजनीतिकर्मी हो, म अन्तिम सास कर्णालीमै फेर्ने हो ।’
पूर्वमन्त्री सत्य पहाडी आफूलाई कर्णालीको पहिचान बोकेर यहाँको सुन्दर सपना साकार पार्न काठमाडौं पुगेको एक यात्रीका रूपमा चिनाउँछिन् । ‘मैले काठमाडौं बस्दा पनि धेरैपटक डोल्पाको प्रतिनिधित्व गरेकी छु । विभेदको हुरी अन्त्य गर्न, समानताको सपना साकार पार्न काठमाडौं पुगेर सामन्ती शासनमाथि धावा बोलेको योद्धा हो,’ उनी भन्छिन्, ‘म निरन्तर कर्णालीको निम्ति बाँचेको छु, बाँचिरहनेछु ।’
उनले कर्णालीको क्षमतामाथि नजरअन्दाज गर्नेमाथि काठमाडौंमा बसेर बज्र प्रहार गर्नेमध्येमा आफूलाई दाँजिन् ।
नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल आफूलाई राजनीतिले नै डोर्याएर काठमाडौं पुर्याएको बताउँछन् । भौतिक अवस्थितिले चेतनाको निर्माण गर्छ भन्ने आफ्नो दलको सिद्धान्त पछ्याउँदै कर्णालीदेखि काठमाडौंसम्मको यात्रा तय गरेको उनको भनाइ छ ।
अब कर्णालीको विकास कसरी गर्ने ? कर्णालीमा सम्भावना के छन् ? यसमा पनि उनीहरूले आफ्ना अवधारणा सुनाए ।
नरेश भण्डारी कर्णाली समृद्धिको सूत्रपात गर्ने प्रदेशको वर्गमा पर्ने बताउँछन् । ‘कर्णालीको साधनस्रोतको हकदार हामी हौँ, हामीले नै उपयोग गर्नुपर्छ । नदीमा बगिरहेको डलरलाई कर्णालीका नागरिकको जीवन समृद्धिका लागि उपयोगी हुने गरी लगाउनुपर्छ,’ उनले भने, ‘अहिले पनि कर्णालीमा केही नभएको होइन, कर्णाली हामीले सोचेजस्तो परिवर्तन नभएको मात्र हो ।’
उनी अब काठमाडौंको विकासको मोडल फेल भइसकेको बताउँछन् । अब कर्णालीको मोडल अपनाएर देशको विकास गर्नुपर्ने सुझाव उनको छ । ‘अहिले पनि धादिङ र नुवाकोटमा डाक्टर बस्न मान्दैनन्, जुम्लामा १०० भन्दा धेरै डाक्टर छन्,’ भण्डारी भन्छन्, ‘कर्णालीले पहिले बिरामी पठाउँथ्यो, अहिले डाक्टर पठाउँछ, त्यसैले म भन्छु अब कर्णालीको मोडलबाट विकास गरौँ ।’
कर्णालीका विकासका थुप्रै सम्भावना भएकाले यसमा लगानी गर्दै कर्णालीका समस्या समाधान गर्न राजनीतिक सहमति जुटाउनुपर्ने उनको भनाइ छ ।
सत्य पहाडी संघीयताको अभ्यास भइरहेकाले यसैमार्फत् कर्णालीको विकास गर्न सकिने बताउँछिन् । ‘एकात्मक राज्य प्रणालीबाट कर्णालीको विकास हुँदैन भनेर हामीले संघीयताको व्यवस्था गरेका हौँ । अब कर्णालीमै सरकार छ, पक्कै विकास गर्छ, उनले भनिन् । उनले कर्णालीलाई भौगोलिक कठिनाइका रूपमा मात्र लिन नहुने र एउटा सम्पत्तिका रूपमा लिनुपर्ने सुझाव दिइन् ।
नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कर्णालीको परिचय बदल्न आफैँले काम गर्नुपर्नेमा जोड दिए । ‘हाम्रा नेताले, हाम्रो अगुवाले गरिदिन्छन् भनेर भर पर्नुहुँदैन,’ उनी भन्छन्, ‘कर्णालीलाई परिवर्तन गर्ने दायित्व कर्णालीकै मान्छेको मात्र पनि होइन, नेपालका प्रमुख राजनीतिक दल, जसले देशको नेतृत्व गरिरहेका छन्, उनीहरूले आफ्नो क्षेत्रका लागि मात्र चिन्ता गर्ने होइन । कर्णाली जस्ता पिछडिएका क्षेत्रलाई हेर्नुपर्छ ।’अहिले कर्णलीमा दुःख र पीडाका कथाहरू मात्र छन् भन्ने भ्रम काठमाडौंलाई परेको उनले बताए । शिलापत्र बाट