शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन

काठमाडौं– महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणमा काठमाडौं आएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीको आज नागरिक अभिनन्दन गरिएको छ।
पूर्वीय दर्शन एवं वैदिक गणितका ज्ञाता शंकराचार्य निश्चलानन्द सरस्वतीलाई आइतबार कोषका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले अभिनन्नदन पत्र हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा शंकराचार्य निश्चलानन्द सरस्वतीले कोषले प्रकाशन गरेको लिंक पुराणको नेपाली अनुवादको पनि लोकार्पण गरे। पुराण पशुपतिनाथको पश्चिम मूलढोकास्थित कोषको बिक्री कक्षबाट बिक्री वितरण हुने जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै शंकराचार्य सरस्वतीले वैदिक सनातन धर्मको रक्षाका लागि आफू नेपाल आएको बताए। मानिस भौतिकतामा मात्र रुमलिँदा दुःखी भएकाले आध्यात्मिक साधना एवं अभ्यास गरेर खुसी हुन सक्ने बाटोको पनि अवलम्बन गर्न उनले सुझाव दिए। फागुन ४ गते नेपाल आएका उनी सोमबार काठमाडौंबाट बनारस जाने शंकराचार्य मठले जनाएको छ।
उनीले आज बेलुकी नेपाल भारत मैत्री पशुपति धर्मशालामा भक्तजनको जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको मठले जनाएको छ। उनले फागुन ५ गतेदेखि नै बेलुकी भक्तजनका जिज्ञासाको जवाफ दिँदै आएका छन्।रासस