मनाङ मर्स्याङ्दीले जित्यो मकवानपुर गोल्ड कपको उपाधि
मकवानपुर – मनाङ मर्स्याङ्दी क्लबले पाँचौँ स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौँडा उपमहानगरपालिका–४ को पिप्ले क्याम्प रङ्गशालामा बुधवार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलले हराउँदै मनाङ विजेता बनेको हो ।
मनाङलाई उपाधि जिताउन रोशन राना मगरले गोल गरे । निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा खेलको ७८ औँ मिनेटमा मनाङका रोशन राना मगरले गरेको गोल नै निर्णायक बन्यो ।
उपाधिसँगै मनाङले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता शेर्पाले १० लाख रुपैयाँ पाएको छ । प्रतियोगितामा मनाङका कप्तान तथा गोलकिपर दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले हेटौँडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको मोटरसाइकल प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरकिपर मनाङका दीप कार्की, डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ, मिडफिल्डर मनाङका कमल थापा, फरवार्ड शेर्पाका योउमी र प्रशिक्षक मनाङका किरन श्रेष्ठ चुनिए । उनीहरूले जनही २५–२५ हजार रुपैयाँ हात पारे ।
प्रतियोगिताको विजेता बनेको मनाङलाई फाइनलमा पुर्याउनका लागि दीप कार्कीले महत्त्वपूर्ण योगदान गरेका थिए । यसअघि सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा दीप जितका नायक बनेका थिए । उनले दुई वटा पेनाल्टी प्रहार बचाएका थिए ।जिल्ला फुटबल सङ्घ मकवानपुरको आयोजनामा माघ २८ गतेदेखि सुरु भएको प्रतियोगितामा एक विदेशी टोलीसहित १२ टोलीको सहभागिता रहेको थियो । उज्यालो बाट