Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

कलङ्की–महाराजगञ्ज सडक खण्ड विस्तारको काम चाँडै सुरु हुन्छ : मन्त्री श्रेष्ठ

काठमाण्डौ – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलङ्की–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ ।
बिहीवार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत छन सङ, काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडक खण्डको निरीक्षण एवम् अवलोकन गरेको हो ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ विस्तार अब चाँडै सुरु हुने सहमति भएकाले बताउनु भयो । उहाँले कलङ्कीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक पनि अब चाँडै काम सुरु गर्ने सहमति चीन सरकारसँग भएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले चिनियाँ राजदूत छन सङसँग मन्त्रालयमा छलफल गरी छटोभन्दा छिटो काम अघि बढाउने सहमति भएको बताउनु भयो । उहाँले यस सडक खण्डमा भएका समस्याहरुको समाधान भइसकेको र अब निर्बाध रुपमा सडक विस्तार गर्ने काम सुरु हुने प्रतिबद्धता जनाउनु भयो ।

बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम सुरु गर्ने तयारी रहेको बताउनु भयो । उहाँले स्वयम्भूनाथका संरचनाहरु भने नभत्काइकन त्यहाँको सडक डिजाइन परिवर्तन गर्ने सहमति भएको पनि बताउनु भयो । उहाँले चीन सरकासँग कलङ्कीदेखि महाराजगञ्जसम्मको मात्रै सहमति भए पनि महाराजगञ्जदेखि धोबीखोलासम्मको सडक विस्तार गरिदिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दोस्रो खण्ड चक्रपथ विस्तार गर्ने काम सम्पन्न गर्नुछ । कलङ्कीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको छ । यो काम अघि बढाउन पनि चीन सरकारले सहमति दिइसकेको छ । त्यसैअनुसार काम अघि बढाउन हामीले पहल गरिरहेका छौँ । यो बीचमा धेरै समयसम्म यो काम हुन सकेन । हाम्रो बीचमा मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूतसँग छलफल गरी छिटोभन्दा छिटो काम अघि बढाउने सहमति भएको छ । समस्याको समाधान निकालिसकेको छौँ ।

उपप्रधानमन्त्री श्रेष्ठले कलङ्की–कोटेश्वर सडक खण्ड बनेको लामो समयसम्म पनि कलङ्की–महाराजगञ्ज सडक निर्माण नभएको भए पनि अब भने तत्काल काम सुरु गर्ने तयारी रहेको बताउनु भयो ।

बिजुलीका पोल र मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी भएको छ र छिटै हामी काम सुरु गर्ने सहमति भएको छ । सरकारले बाँकी समस्या तदारुकताका साथ हल गर्ने कुरा भएको छ । बिजुलीका पोल, स्वयम्भूअघिको समस्याहरुका कुराहरु छन्, त्यसमा सांस्कृतिक सम्पदा भत्काउनु हुँदैन भनेर त्यहाँको डिजाइन नै परिवर्तन गर्ने कुरा भएको छ । सकेसम्म महाराजगञ्जदेखि धोबीखोलासम्म काम गर्नुहोस् भन्ने आग्रह गरेका छौँ । तर सहमति भने त्यो होइन ’उहाँले भन्नुभयो । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com