डेटा चोरी हुने त्रासपछि चीनसँग डरायो न्युजिल्यान्ड, टिकटकमा प्रतिबन्ध लगाउने

न्युजिल्यान्डले चिनियाँ एप्स टिकटकमा सीमित प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको सरकारका अनुसार देशको संसदीय नेटवर्कमा पहुँच भएका मोबाइल फोनहरूमा टिकटक प्रतिबन्ध लगाइने भएको हो ।
चीनले टिकटकमार्फत् डेटा चोरी गर्ने गरेको आरोप लाग्ने गरेको छ । न्युजिल्यान्डले पनि साइबर सुरक्षा चिन्ताको कारण देखाउँदै टिकटकको प्रयोगलाई सीमित गर्न खोजेको हो ।

संसदीय सेवाका प्रमुख राफेल गोन्जालेज–मोन्टेरोले मार्चको अन्त्यसम्ममा संसदीय संजालका फोनहरुमा टिकटक प्रतिबन्ध लगाइसक्ने बताए । साइबर सुरक्षा विशेषज्ञहरूसँगको सल्लाह र छलफलपछि यो निर्णय लिइएको हो ।
टिकटकको माउ कम्पनी चिनियाँ बाइटडान्स संस्थामार्फत् चिनियाँ सरकारले प्रयोगकर्ताहरूको स्थान र सम्पर्क डेटा पहुँच गर्नसक्ने सम्भावनालाई लिएर विश्वव्यापी रूपमा चिन्ता बढेको छ । न्युजिल्यान्ड आफ्नो सरकारी डेटामा चिनियाँ पहुँच हुनसक्ने भन्दै झस्किएको हो । रोयटर्स