Yeti Khabar

२०८१ मंसिर ८, शनिबार - Sat Nov, 2024 -

नारायणकाजीसँग सवाल गरेकी गरिमा, जसले मिटरब्याजीको धम्कीले स्कुल छाडेकी थिइन्

twitter sharing button
messenger sharing button
sharethis sharing button

‘अदालत किन बनाको?’ माइतीघरमा धर्नारत मिटरब्याजीपीडित भेट्न पुगेका उपप्रधान तथा भौतिक योजनामन्त्री नारायणकाजी श्रेष्ठलाई सानी बालिकाले चोटिला प्रश्न सोधिन्। नारायणकाजीले स्नेही लवजमा भने, ‘न्याय दिन।’ 

जवाफ नसकिँदै बालिकाले अर्को प्रश्न तेर्स्याइन्, ‘आजकल घुस खान्छ त।’

‘घुस खानेलाई पनि कारबाही गर्ने,’ नारायणकाजीले पुनः जवाफ दिए। केहीबेर यो सबालजवाफ चलिरह्यो। बालिकाले निडर भएर गम्भीर प्रश्नहरू तेर्स्याइरहिन्। नारायणकाजीले शान्त मुद्रामा जवाफ दिइरहे। 

अदालतको ‘न्याय’मा रत्तिभर विश्वास छैन ती बालिकालाई। भन्दै थिइन्, ‘न्याय दिएको भए यहाँ किन आउनुपर्थ्यो नि।’ उनले आफूहरूलाई आउने धम्कीबारे पनि सुनाइन्। नारायणकाजीले आश्वासन दिए, ‘तिम्रो सुरक्षा हुन्छ। त्यहाँ प्रहरी प्रशासनले सुरक्षा दिन्छ।’

बालिकाका प्रश्नहरू सकिएका थिएनन्। सिरहाको मिर्चैयाबाट न्यायका लागि १२ दिन हिँडेर काठमाडौं आइपुगेकी उनले पहिलो पटक यहाँको सरकारसँग बातचित् गरेकी थिइन्। उनलाई ४ वर्षदेखि आफ्नो परिवारले भोगेको अत्याचारको फेहरिस्त सुनाउनु थियो।

उनी थिइन्, १३ वर्षीया गरिमा राई। 

गरिमा कक्षा पाँचमा पुगेकी थिइन्। पढाइ र अन्य प्रतिभामा पनि अब्बल। तर ७ महिना भयो, स्कुलको बाटो बन्द भएको। साथीहरूले सोध्छन्, ‘यति राम्रो पढ्ने मान्छे। स्कुल किन नआएको?’

गरिमाका आँखा टिल्पिलाउँछन्। पंक्तिकारसँगको भेटमा उनले आँसु पुछ्दै भनिन्, ‘बन्न त मलाई डाक्टर बन्न मन छ। दुःखीहरूको इलाज गर्न मन छ। तर स्कुल कसरी जान पाउँछु?’ ७ महिनाअघि घरदेखि स्कुलको आँगन नपुग्दासम्म मनभरि अत्यास बोकेर हिँड्नुपर्थ्यो गरिमाले। कानमा आमालाई दिएको धम्की बाटोभर बजिरहन्थ्यो, ‘तेरो छोरीलाई मारेर खोलामा बगाइदिन्छु।’ 

कक्षामा पनि उही त्रासले पढाइमा मन अडिन्न थियो। घरमा खानका लागि अन्नधरी सकिएको थियो। ‘भोकभोकै स्कुल कसरी पठाउने छोराछोरीलाई,’ आमा ममता राई मुर्छित भइरहिन्। त्यसमाथि डेराको भाडा र स्कुलको शुल्क तिर्ने सामर्थ्य सकिएको थियो। मिटरब्याजको आतंकले सबथोक रित्तिएर पनि अत्याचारको शृंखला सकिएको थिएन। ममताले बाध्य भएर छोरीलाई भनिन्, ‘स्कुल नजाऊ।’ 

डर, धम्की र अत्यासलाग्दो स्थितिबाट जोगिनु थियो गरिमालाई। त्यसपछि उनी स्कुल जान छाडिन्।

३० वर्षीया ममताका श्रीमान् खाडी मुलुकमा थिए। उनी छोराछोरी पढाउन मिर्चैयामा डेरा लिएर बस्थिन्। छोरा ब्रेनको बिमार थिए। ३ वर्षअघि छोराका उपचारका लागि काठमाडौं लैजानुपर्‍यो। उनीसँग पैसा थिएन। श्रीमान्ले पनि तत्काल पैसा जुटाउन नसकेपछि ममताले गोलबजारकी सुजता शाहसँग दुःखेसो पोखिन्। उपचारका लागि सुजताले २ लाख रुपैयाँ दिने भइन।

छोराको उपचार गरेर उनी फर्किइन्। त्यसको एक हप्तापछि सुजताले ममतालाई भेट्न बोलाइन्। ‘जाँदा ऊसँग चार जना डरलाग्दा केटा थिए। अनि मलाई अहिल्यै पैसा फिर्ता दे भन्न थाली’ उनी त्यो क्षण सुनाउँछिन्। सुजताको व्यवहारले छाँगाबाट खसेजस्तै भएकी थिइन् ममता उसो त उपचारमा पैसा रित्तिएको थियो। उनले विन्ती बिसाइन्,‘ केही समय देऊ। चुक्ता गर्छु।’ 

तर, सुजता सजिलै मान्नेवाला थिइनन्। सर्त राखिन्, ‘सबै पैसा अहिले तिर्नू। नत्र हप्तामा साढे सात हजार दिनू।’

हप्तादिनमा त्यतिका पैसा जुटाउन सहज थिएन ममतालाई। उनले महिनामा त्यति रकम तिर्ने बताइन्। सुजता अस्वभाविक देखिइन्। उनले धाराबाहिक धम्कीहरू दिन थालिन्।

त्यो साँझ उनले विदेशमा भएका श्रीमान्लाई फोन गरेर पीडा पोखिन्। ‘मान्छे ठीक छैन। केही नभन। केही दिन व्यवस्थापन गर। त्यसपछि म पठाउँछु अनि दिइहाल्नु।’ उनले २ महिना लगातार हप्ताको साढे सात हजार पैसा सुजतालाई बुझाइरहिन्। ‘२ महिनापछि कोरोनाका कारण लकडाउन भयो। श्रीमान्को काम पनि बन्द भयो।  त्यसपछि त मलाई मर्नु न बाँच्नु गरी दबाब आयो,’ उनी सुनाउँछिन्। 

सुजताले धम्क्याएकी थिइन्, ‘यो कुरा कसैलाई भनिस् भने छोराछोरीलाई मारिदिन्छु।’

जसोतसो लकडाउनमा पनि ४० हजार लगेर थमाइदिइन्। तर उनले बुझाएको पैसा सुजताको खातामा कहिल्यै चढेनछ। उल्टै २ लाखबाट बढेर १६ लाख पुग्यो। त्यही क्रममा उनको जग्गाजमिन खोसियो। लघुवित्तबाट ऋण लिएर तिरिन्, अन्य ऋण पनि लिइन्। अहँ, सकिएन। अहिले महिनाको ६० हजार लघुवित्तलाई तिर्नुपर्छ ममताले। उनीसँग तिर्ने सामर्थ्य छैन।

यता सुजताले त्रसित बनाउन पनि छाडेकी छैनन्। 

सन्तान गुमाउने त्रासकै कारण उनले रकम बुझाइरहिन्। सुजताबाट झन्झन् मानसिक यातना भोगिरहिन्। उनी न्यायका लागि प्रहरी चौकी पुगिन्। चौकीबाट उल्टै अपमान बोकेर फर्किइन्। ‘जति पटक गयो, उतिपटक प्रहरीहरूले मलाई नै गलत देखाएर फर्काए। मान्छेको व्यवहार गरेनन्। तर त्यहीँ सुजता जाँदा ठूलो सम्मान दिए,’ उनी सुनाउँछिन्। 

उनले नधाएको प्रशासन (जिल्ला प्रशासन कार्यालय, अदालत…)नै थिएन। उनी हरदिन आँखाभरि आँसु लिएर फर्कन्थिन्।

आमाको पीडा देखेर रातभरि रुवाउँथ्यो गरिमालाई। ‘म, ममी र भाइ धेरै रात रोएर बिताएका छौँ,’ गरिमा सुनाउँछिन्। 

‘गुण्डा’हरू बोकेर सुजता कहिले कोठामै आइपुग्थिन्। भन्थिन्, ‘म महिनामा ५० हजार थानामा तिर्छु। १ लाख केटाहरूलाई खुवाउँछु। पैसा पाइनँ भने मारिदिन्छु छोराछोरीलाई।’ धम्कीले गरिमा र भाइको मस्तिष्कमा नराम्रो छाप छाडेको छ।

‘ममीले थाहा पाइसक्नुभएको थियो। त्यहाँको अदालत, प्रशासनले न्याय दिँदैन भनेर। त्यसपछि मनोज पासवान अङ्कलले जुलुस उठाउनुभएको थियो। त्यसमा सहभागी भयौँ,’ गरिमा भन्छिन्।

मिटरब्याजीपीडित संघर्ष समितिको नेतृत्व मनोज पासवानले गरेका थिए। ममता जस्तै संघर्ष समितिमा थुप्रै पीडित थिए। मिटरब्याजीकै अत्याचारका कारण उनीहरूको जीवन पनि ‘बर्बाद’ बनेको थियो।

गरिमा आमाको न्यायिक लडाइँमा सँगै भइरहिन्। ममता जहाँ जहाँ जान्थिन्, गरिमा पनि सरिक हुन्थिन्।  मनमा आक्रोस हुन्थ्यो, त्यो पोख्न डर लाग्थ्यो गरिमालाई। ‘बोल्दै बोल्दै गएँ, अनि डर हराएर गयो, ’ उनी  सुनाउँछिन्, ‘आज पनि मन्त्रीहरू आउनुभयो। म बोलेँ। प्रधानमन्त्री आउनुभए पनि सोध्न डराउने छैन अब।’

जब पीडितहरू एकजुट भएर पैदलै काठमाडौं पुग्ने निर्णय गरे। ममता नि आउने भइन्। गरिमाले भनिन्, ‘म पनि जान्छु काठमाडौं।’ 

आन्दोलनमा सरिक भएर गरिमा पनि आइन् काठमाडौं। कोही आमाहरू ६ महिनाको बच्चा च्यापेर पैदल हिँडेका छन्। कोही वृद्धा सकी नसकी बाटो हिँडेका छन्। १२ दिन पैदल हिँड्दा गरिमाका पाइतालाभरि फोका उठे। ज्वँरो आयो, खोकी पनि लाग्यो। तर उनी साहसैले हिँडिन्। ‘छोरीले जानिसकेकी छ– मान्छे कुन राम्रो कुन नराम्रो भनेर,’ ममता भन्छिन्।

 बाटोमा आउँदा गरिमाले चप्पल हराइन्। एक ठाउँमा प्रहरीहरूले रोके। खाली खुट्टै गरिमा अगाडि प्रतिवादमा उभिइन्। छोरीको हिम्मत देखेर ममता चकित भइन्। 

बाटोमा एकजना अभियन्ताले सोधे, ‘तिम्रो चप्पल खोई?’

‘अंकल मेरो चप्पल बाटैमा छुट्यो,’ गरिमाले जवाफ दिइन्। बेलुका उनले चप्पल किनेर ल्याइदिएछन्।

न्यायका लागि आन्दोलनमा उभिएकी गरिमालाई आज मन्त्रीले भने, ‘हामी उनीहरूलाई कारबाही गर्छौँ। तिमी स्कुल जाऊ।’ 

गरिमाले अस्वीकार गर्दै भनिन्, ‘हैन, म जाँदिन। किनकि म मात्र हैन। देशभरमा धेरै बच्चा स्कुल जान पाएका छैनन्।’ उनको जोड थियो, ‘नियम कानुन बनाउनुपर्यो, अनि घुसखोरहरूलाई जेल र हामीलाई विद्यालय पठाउनुपर्यो।’

गरिमालाई काठमाडौं आइपुग्दासम्म धेरै कुरा थाहा भइसकेको छ। सोमबार उनीहरू खुलामञ्चमा धर्ना बस्ने योजनाका साथ आइपुगेका थिए। तर गेट खुलेन। ‘खुलामञ्चमा हामीलाई रोकेको थियो। त्यो नेपालकै सम्पत्ति हो। किन रोकेको?,’ गरिमा भन्छिन्।

अहिले उनीहरू काठमाडौंमा धर्ना दिएर बसिरहेका छन्, न्याय नपाउन्जेल नफर्कने दृढताका साथ। ‘हामीले न्याय नपाइन्जेल यहाँबाट फर्कने छैनौँ। न्याय पाएनौं भने मैले पढ्न पनि त पाउँदिन,’ गरिमा  भन्छिन्। लाइभ बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com