दक्षिण कोरियाली चलचित्र हेर्नेलाई उत्तर कोरियामा मृत्युदण्ड दिने गरिएको दाबी

उत्तर कोरियाले दक्षिण कोरियाली चलचित्र हेर्ने व्यक्तिहरूलाई मृत्युदण्ड दिने गरेको एक प्रतिवेदनले जनाएको छ ।
उत्तर र दक्षिण कोरियाको मामिला हेर्ने सोलको एकीकरण मन्त्रालयले ४५० पृष्ठको प्रतिवेदन सार्वजनिक गर्दै उत्तर कोरियाले सामान्य विषयमै मृत्युदण्ड दिने गरेको उल्लेख गरेको छ ।
प्रतिवेदनअनुसार उत्तरले दक्षिण कोरियाली चलचित्र र म्युजिक भिडियो हेर्नेलाई मात्र नभएर धार्मिक गतिविधिमा लागि पर्ने र लागुऔषध सेवन गर्नेहरूलाई पनि मृत्युदण्ड दिने गरेको छ । दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले आफ्ना नागरिकको अधिकार र स्वतन्त्रता कठोर रूपमा कुण्ठित गरिरहेको छ ।

सन् २०१७ देखि २०२२ को अवधिमा उत्तरबाट भागेर दक्षिण कोरिया पुगेका ५ सय व्यक्तिसँग लिइएको अन्तर्वार्ताबाट प्रतिवेदन तयार गरिएको हो । सामान्य विषयमै मृत्युदण्ड दिएर ज्यान लिनु नाजायज कार्य भएको दक्षिण कोरियाको भनाइ छ । दक्षिण कोरिया भन्छ, ‘उत्तरका नागरिकको जीवन सामान्य विषयमै मृत्युको दाउमा राखिएको पाइयो ।’
उत्तर कोरियाले पछिल्ला समय आणविक हतियार परीक्षणका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको छ । उसले दोहोर्याउँदै शक्तिशाली क्षेप्यास्त्र र बम प्रक्षेपण गरिरहेको अवस्था छ । यस्ता कार्यले सो क्षेत्रको शान्ति भड्किएको सोलले बताउँदै आएको छ । तर, उत्तर कोरियाको जीवनस्तर सुधार्नमा भने सर्वोच्च नेता किम जोङ उन असफल भएको प्रतिवेदनको दाबी छ ।
सन् २०२२ अर्थात् गत वर्षको अक्टोबरमा मात्र पनि दक्षिण कोरियाली चलचित्र हेरेको आरोपमा उत्तर कोरियाले १६ र १७ वर्षका किशोरको गोली हानी हत्या गरेको सोलले दाबी गरेको थियो । उत्तर कोरियाको कडा नियमका कारण त्यहाँका नागरिक बारम्बार समुद्रबाट पौडी खेल्दै दक्षिण कोरिया भाग्ने गरेका छन् । अहिलेसम्म ३४ हजार उत्तर कोरियाली नागरिक दक्षिण कोरिया पुगेर बसोबास गर्न थालिसकेका छन् ।
उत्तर कोरियाबाट भाग्दा त्यहाँका सेनाको गोली लागेर सयौँ मानिसहरू पनि मरिसकेको प्रतिवेदनका लागि अन्तर्वार्ता दिने उत्तर कोरियाली नागरिकहरूले बताएका छन् । किमको कडा शासनविरुद्ध बोल्दा पनि ज्यान जाने खतरा भएको उनीहरू बताउँछन् । अलजजिराको सहयोगमा