फिलिपिन्समा एक हप्तामा ७२ जनाको पानीमा डुबेर मृत्यु

फिलिपिन्समा डुबेर एक हप्तामा कम्तीमा ७२ जनाको मृत्यु भएको छ ।
क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका शहरबाट लाखौँ मानिसले परम्परागत रूपमा यो बिदा मनाउन र परिवारसँग समय बिताउन समुद्रको किनार क्षेत्र र त्यहाँ रहेका होटलमा प्रकृतिको मनोरम वातावरणको आनन्द लिन पुग्ने गर्छन् ।
फिलिपिन्सको राष्ट्रिय प्रहरी पीएनपीका प्रवक्ता कर्नेल जिन फजार्डोले कोरोना भाइरस नियन्त्रणका लागि वर्षौंदेखि जारी आवागमनमा लगाइएको प्रतिबन्धका कारण मृत्यु हुनेको सङ्ख्या ‘बदलाको यात्रा’ का कारण भएको बताएका छन् ।
फजार्डोले एएफपीसँग भनेका छन्, ‘महामारीको लामो सास्तीपछि मानिसहरू समुद्र तट र रिसोर्टमा जानका लागि केही उत्साहित भए । धेरै मानिसको भीडमा केही दुःखद् घटनाहरू भएका हुन् ।’
मृतकको पहिचान तत्काल उपलब्ध नभए पनि फजार्दोका अनुसार मृत्यु हुनेमा पौडी खेल्ने क्रममा अभिभावकले बेवारिसे अवस्थामा छोडेका बालबालिका र मादक पदार्थ सेवन गरी समुन्द्री किनारमा पसेकाहरू रहेका छन् ।
फजार्डोले मृतकको सङ्ख्या ‘असामान्य’ र विगतका वर्षहरूको तुलनामा बढी भएको बताउँछन् । ‘रिसोर्ट र समुद्र तटहरू खचाखच भरिएका थिए । यसले पनि डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको हुनसक्छ,’ उनले भने ।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका अनुसार विश्वमा अन्जानमा हुने चोटपटकका कारण हुने मृत्युको तेस्रो प्रमुख कारण पानीमा डुबेर मृत्यु हुने गरेको छ । रासस