मुसालाई ढुंगामा बाँधेर पानीमा फ्याँक्ने भारतीय नागरिक जनावर हिंसामा जेल जान सक्ने
भारतको उत्तर प्रदेशका एक व्यक्ति जनावर हिंसा मुद्दामा जेल जान सक्ने अभियोजनकर्ताहरूले बताएका छन् ।
गत वर्षको नोभेम्बर महिनामा मनोज कुमारले मुसालाई ढुंगामा बाँधेर एउटा नालीमा फ्याँकिदिएका थिए । सो मुसा ढुंगासँग डोरीले बाँधिएकाले फुत्किन नसकी मरेको थियो । जनावर अधिकारकर्मी भिकेन्द्र शर्माले त्यसपछि अदालतमा मनोजविरुद्ध जनावर हिंसा गरेको भन्दै मुद्दा हालेका थिए ।
अभियोजनकर्ताहरूले यस विषयमा अनुसन्धान गरेर ३० पृष्ठको आरोपपत्र तयार गरेका छन् । सो आरोपपत्रमा मुसा ढुंगासँग बाँधिएकाले पानीमा डुबेर मरेको उल्लेख छ । उत्तर प्रदेशका वरिष्ठ अधिवक्ता राजिभ कुमार शर्माका अनुसार मनोजमाथि पशु क्रूरता रोकथाम ऐनअन्तर्गत १० देखि २ हजार रुपैयाँ जरिवानासहित तीन वर्षसम्मको जेल सजाय हुन सक्छ ।
मनोजका पिता माथुरा प्रसादले भने मुसा र काग मार्नु गलत कार्य नभएको बताइरहेका छन् । मुसाले आफ्नो घरको माटो र भाँडाकुँडामा क्षति पुर्याएको उनको भनाइ छ । -एनडीटीभी