Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

सुदूरपश्चिममा उकालो लाग्दै कोरोना संक्रमणदर 

सुदूरपश्चिममा उकालो लाग्दै कोरोना संक्रमणदर 

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर उकालो लाग्न थालेको छ । केही हप्तादेखि सुदूरपश्चिममा कोरोना संक्रमणदर उकालो लाग्न थालेको हो । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक अनुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यो अवधिमा पीसीआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमूना परीक्षण गरिएको छ ।

संक्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । गतको बिहीबार एकै दिन ३६ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणदर बढेसँगै ‘एक्टिभ केश’ (सक्रिय बिरामी) पनि बढेका छन् । हाल कैलालीमा २२ र कञ्चनपुरमा एक सक्रिय बिरामी छन् । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो ।

सीमानाका हुँदै भारतबाट भित्रिने बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिने गरेको छ ।  कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको संक्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।  सर्वसाधारणबाट तोकिएको मास्क प्रयोग नगरी जथाभावीरूपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमी-कमजोरी देखिएको छ ।

सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले कोरोना संक्रमणदर अझै बढ्न सक्ने बताए । ‘नमूना परीक्षण गराउनेहरू बढ्दा कोरोना ‘पोजेटिभ’ बिरामी पनि बढ्न सक्छन्’, उनले भने, ‘संक्रमण पुष्टि हुने व्यक्तिलाई चिकित्सकसँग सल्लाह लिन र  होमआइसोलेसनमा बस्न सल्लाह दिने गरेका छौँ ।’

सीमाक्षेत्र हुँदै भित्रिने सङ्क्रमित नागरिकको हकमा निजकै घरठेगाना भएको पालिका तहलाई सीमाक्षेत्रमा सञ्चालित ‘हेल्थ डेस्क’मार्फत समन्वय गरेर जानकारी गराउने गरिएको छ । तर, पालिका तहले संक्रमण रोकथामका लागि पहल गरे/नगरेको जानकारी नभएको स्वास्थ्यकर्मीले बताएका छन् । कोरानाको संक्रमण बढ्न थालेपछि कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको छ ।

सरकारले कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ । स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने जनाइएको छ । कोरोनाको संक्रमण भएकाहरूले  संक्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लिन मिल्ने जनाइएको छ ।

कोरोना भाइरसको समस्या देखिएपछि हालसम्म सुदूरपश्चिममा छ लाख ५४ हजार आठ सय १८ जनाको नमूना परीक्षण भइसकेको छ । यीमध्ये ६२ हजार दुई सयमा संक्रमण पुष्टि भएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com