Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

१६ करोड लगानीमा कोहलपुरमा बन्यो सपिङ कम्प्लेक्स सहितको बसपार्क (तस्बिरहरू)

email sharing button
sharethis sharing button

बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ। कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरेको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै संरचना निर्माण भइसकेको जानकारी दिए। उनले बसपार्कमा तीन प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्यचौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने प्रबन्ध मिलाइएको बताए।

मुख्य राजमार्गमा कोहलपुर चौराहाको छेउमै निर्माण गरिएको सो बसपार्कमा तीन दर्जनभन्दा बढी लामो दूरीका सवारीसाधन राख्न सकिने क्षमता छ। केही दिनमै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्ने र त्यसपछि सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत ढकालले उल्लेख गरे। सो अत्याधुनिक बसपार्कमा व्यावसायिक सटर भाडामा लगाउन नगरपालिकाले बोलपत्रको सूचना प्रकाशन गरेको छ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बसपार्क सञ्चालनमा आएपछि नेपालगन्ज र कोहलपुरबाट देशभर यातायात सञ्चालन हुने र  व्यवसायीलाई सहज र यात्रुलाई पनि सुविधा मिल्ने बताए। बसपार्क सञ्चालनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविधि, २०७९ समेत स्वीकृत भएको छ। बसपार्कबाट देशको पूर्व-पश्चिम र उत्तर- दक्षिणका विभिन्न स्थानमा लामो दूरीका यातायातका साधन चल्नेछन्।

उक्त बसपार्क सञ्चालनका लागि नगरपालिकाका प्रमुखको अध्यक्षतामा पाँच सदस्यीय बसपार्क व्यवस्थापन समिति गठन गरिएको छ। बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ। बसपार्कमा करिब रु १६ करोडको लगानी रहेको छ।

वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता भएको नगरपालिकाले जनाएको छ। सो आधुनिक बसपार्क पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको छ।रासस

सबै तस्बिरहरू: कोहलपुर नगरपालिका।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com