भारतबाट पाइपलाइनमा आपूर्तिकाे तयारी, के नेपालमा सस्तो हुँदैछ पेट्रोल ?
चाँडै नै नेपालमा भारतबाट पाइपलाइनमार्फत पेट्रोलको आयात सुरु हुने भएको छ । भारतसँगको सहमतिसँगै चारैतिर जमिनले घेरिएको नेपालमा पेट्रोलको मूल्य केही घट्ने अपेक्षा गरिएको छ ।
पाइपलाइनबाट पेट्रोलको आपूर्तिमा केही समय लाग्छ तर योजनाअनुसार काम अघि बढेमा आउँदो वर्ष जनवरीदेखि यो कार्यान्वयन हुने सम्भावना छ ।
नेपाल आयल निगमको अमलेखगञ्ज डिपोका प्रमुख विनितामणि उपाध्यायका अनुसार, यसका लागि आवश्यक आधारभूत ढाँचा निर्माण अहिले तीव्रताका साथ गरिँदैछ ।
यसबाट पेट्रोलको ढुवानी खर्चमा केही कमी आउने उनकाे भनाइ छ ।
अहिलेसम्म नेपालमा पाइपलाइनबाट डिजेलको मात्रै आपूर्ति भइरहेको छ । आपूर्ति सुरु भएपछि नेपालमा डिजेलको मूल्यमा दुई रुपैयाँ प्रतिलिटरसम्म कमी भएको थियो ।
भारतमा बिहारको मोतिहारीबाट नेपालमा अमलेखगञ्जसम्म डिजेलको आपूर्तिका लागि पाइपलाइन बनेको थियो । यसको काम अगस्ट २०१८ मा सुरु भएको थियो ।
यद्यपि, दक्षिण एसियामा यसअघि अन्तर्देशीय पेट्रोलियम पाइपलाइनबाट कोभल डिजेलको आपूर्ति भइरहेको थियो, पेट्रोल होइन ।
नेपाल आयल निगमका एक अधिकारीको भनाइमा अमलेखगञ्जमा पेट्रोलको ‘भण्डारण क्षमता’का लागि संरचना पूर्ण नभएकाले यस्तो हुन सकेको थिएन ।
यद्यपि, उनले भने, ‘पाइपलाइन निर्माणको अर्को चरणमा भारतीय आयल निगमसँग सहमतिमा यस्तो भण्डारण केन्द्रको निर्माण कार्य अब तीव्रतासाथ भइरहेको छ ।’
यो अन्तरदेशीय पाइपलाइन नेपाल र भारतको साझा लगानीमा बनाइएको हो । यसलाई ७० किलोमिटर अरु बढाएर चितवनको लोथरसम्म लैजाने योजना छ । हालै निर्मित पाइपलाइनको कुल लम्बाई ६९.२ किलोमटिर छ, जसमध्ये ३६.२ किलोमिटर हिस्सा नेपालमा पर्छ ।
विनितामणि उपाध्यायका अनुसार, पाइपलाइनको अर्को चरणअन्तर्गत अमलेखगञ्जमा भण्डारण केन्द्र र अन्य आधारभूत संरचना निर्माणको काम चलिरहेको छ ।
अहिले नेपाल आयल निगम र भारत आयल निगमको संयुक्त लगानीबाट विभिन्न आधारभूत ढाँचाको निर्माण भइरहेको उनले बताए । अहिलेकै गतिमा काम अघि बढ्यो भने जनवरी २०२४ सम्म पाइपलाइनबाट पेट्रोलको आपूर्ति सुरु हुनेछ ।
यसका लागि भण्डारण ट्याङ्क र पम्प हाउस, अग्नि नियन्त्रण व्यवस्थामा पनि काम भइरहेको उनको भनाइ छ ।
नेपाल आयल निगमका अनुसार, अहिले हरेक दिन ४ हजार किलोलिटरजति डिजेल पाइपलाइनबाट आपूर्ति भइरहेको छ ।
वर्तमानमा भैरहवासम्म डिजेल पाइपलाइनबाटै आइरहेको छ । त्यहाँबाट ट्याङ्करमा भरेर देशका दूरदराजमा लैजाने गरिएको छ ।
उपाध्यायका अनुसार, अमलेखगञ्ज डिपोको भण्डारण क्षमता १९ हजार किलोलिटर डिजेलको हो-नेपालमा कुल पेट्रोलियम खपतमध्ये सबैभन्दा ठूलो हिस्सा डिजेलको हो । देशमा कुल खपतमा डिजेलको हिस्सेदारी ६५ देखि ७० प्रतिशत छ ।
तर, अमलेखगञ्जमा पेट्रोलको भण्डारण क्षमता सीमित छ । यहाँ केवल ३ हजार ५ सय किलोलिटर पेट्रोल स्टोर गर्न सकिन्छ ।
उनका अनुसार, भारत आयल निगमबाट अमलेखगञ्जमा ४-४ हजार किलोलिटरका दुई पेट्रोल स्टोरेज ट्याङ्क बनाउने काम भइरहेको छ । यसरी नै नेपाल आयल निगमको लगानीमा दुई ट्याङ्कको निर्माण भइरहेको छ । तेल स्टोर गर्नका लागि अलग ट्याङ्क बनाउन थालिएको हो ।
भण्डारणस्थल बनेपछि वर्तमानमा बरौनीबाट ट्याङ्करमा जुन पेट्रोल भरिँदैछ, त्यो पनि पाइपलाइनमार्फत नेपाल लगिनेछ ।
यो योजनाको अर्को चरणमा नेपाल र भारतले कुल २ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गर्ने बताइएको छ ।
अधिकारीहरूका अनुसार, पाइपलाइनको काम पहिल्यै पूरा हुन सक्थ्यो तर कोभिड महामारीका कारण यसमा केही बिलम्ब भएको छ ।
पाइपलाइन समान ल्याउने, लैजानेको आधुनिक साधन हो । यसबाट परिवहन मात्रै सजिलो हुने छैन, बरु तीव्र र अधिक विश्वसनीय पनि हुनेछ ।
उपाध्यायका अनुसार, अहिले काठमाडौंसम्म पेट्रोल पुर्याउन ६.७२ नेपाली रुपैयाँ प्रतिलिटरको खर्च लाग्छ । पाइपलाइनबाट आपूर्ति गर्दा यो खर्च करिब साढे चार रुपैयाँ झर्नेछ । बीबीसी हिन्दी