द्वन्द्व चर्किरहेको सुडानमा ७२ घण्टे युद्धविराम लागू
द्वन्द्व चर्किरहेको सुडानमा ७२ घण्टे युद्धविराम लागू भएको छ । युद्धरत सुडानी सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज आरएसएफबीच ७२ घण्टे युद्धविराम गर्ने सहमति भएको बीबीसीले जनाएको छ ।
दुई पक्षबीच गएराति ७२ घण्टे युद्धविराम गर्ने सहमति भएको खबरमा उल्लेख गरिएको छ । अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनका अनुसार ४८ घण्टाको लामो वार्ता पछि युद्ध विराम गर्ने सहमति बनेको हो । सुडानमा सेना र अर्धसैनिक बलबीच भएको सङ्घर्षमा अहिलेसम्म चार सय जनाको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन् ।
युद्ध विरामको घोषणा भएसँगै त्यहाँ फसेका नागरिक सुरक्षित बाहिर निस्कन पाउनेमा आशावादी देखिएका छन् । पश्चिमा लगायतका कयौँ देशले युद्धविराम अघि नै आफ्ना नागरिकको उद्धार गरेका छन् । केही देशले भने अहिले पनि उद्धारकाे काम भइरहेको जनाएका छन् ।एजेन्सी