Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

sharethis sharing button

ललितपुर । ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी एक हजार पाँच सय सात छन् ।  क्षमताभन्दा बढी भए तापनि हाललाई अन्य कारागारको जस्तो नख्खु कारागारमा व्यवस्थापनको समस्या नरहेको कारागार प्रशासक कल्पना घिमिरेले जानकारी दिइन् ।

उनका अनुसार आगामी दिनमा हालको सङ्ख्याभन्दा बढी कैदीबन्दी थपिएमा व्यवस्थापनमा समस्या हुन सक्नेछ । हाल नख्खु कारागारमा छ सय ९५  पुर्पक्षका लागि थुनामा राखिएकामा ४५ विदेशी नागरिक  छन् ।  त्यसैगरी, आठ सय १२  कैदीबन्दीमध्येमा ५७  विदेशी नागरिक  छन् । कैदीबन्दी रिहाइ हुने र अदालतको फैसलाअनुसार चलान हुने भएकाले यो सङ्ख्या प्रत्येक दिन फेरबदल हुने कारागार कार्यालयका अधिकृत मुरारी कार्कीले जानकारी दिए ।

हाल कारागारमा तीन  ब्लक  छन् । पुर्पक्षका लागि थुनामा राखिएका र अदालतको फैसलापछि जेल चलान भएकालाई छुट्टाछुट्टै ब्लकमा राखिएको छ ।  कारागार प्रशासक कल्पना घिमिरेका अनुसार, सिआर  र डिआर ब्लक राणाकालीन संरचना भएकाले ती दुई ब्लकलाई केही मर्मत गरेर यथावत राखिएको छ भने नयाँ ब्लक पूर्णरुपमा नयाँ तरिकाले निर्माण गरिएको छ । कारागारमा ३२ प्रकारका घटनामा आधारित कैदीबन्दीमध्येमा सबैभन्दा बढी जबर्जस्ती करणी र लागुऔषधसँग सम्बन्धित कैदीबन्दी रहेको कार्यालय प्रशासक घिमिरेले जानकारी दिइन् । 

उनले भनिन्, “कैदीबन्दीका लागि विभिन्न सीपमूलक तालिमको व्यवस्था छ । कारागारमा पढ्नका लागि करिब सात हजारभन्दा बढी पुस्तकसहितको पुस्तकालय छ । पढ्न चाहानेले कारागारबाट नै स्नातकोत्तर गर्नेसमेत व्यवस्था रहेको छ ।” कारागारभित्र खेलकूद लगायत अन्य विभिन्न सेवासुविधा सरकारले उपलब्ध गराउँदै आएको र कैदीबन्दी बिरामी परेमा उपचारको व्यवस्था रहेको प्रशासक घिमिरेले बताइन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com