अमेरिकामा बन्दुक हिंसा: न्यु मेक्सिकोमा १८ वर्षे किशोरले गरे तीन जनाको हत्या

अमेरिकामा अठार वर्षीय बन्दुकधारी युवकले एक गिर्जाघरबाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् ।
गोली लागेर दुई प्रहरी अधिकारीहरूसहित अन्य केही व्यक्ति घाइते भएको अल जजिराले जनाएको छ । गोली हान्ने ती युवकलाई प्रहरीले गोली हानेर मारेको छ । अल जजिराका अनुसार न्यु मेक्सिकोको फार्मिङ्टनको आवासीय क्षेत्रमा सोमबार गोली हान्ने किशोर बन्दुकधारीले दुई प्रहरीसहित धेरै व्यक्ति घाइते बनाएको प्रहरीले बताएको छ ।
सो घटनाबाट अन्य थुप्रै नागरिक पीडित भएको फार्मिंग्टन प्रहरीले फेसबुकमार्फत जानकारी दिँदै एक जना संदिग्धलाई घटनास्थलमै गोली हानी मारेको बताएको छ । यसैबीच फार्मिङ्टनमा भएको गोलीकाण्डपछि शहरभरका विद्यालयहरू बन्द गरिएको प्रहरीले जनाएको छ । बिहान ११ बजे गोली चलेको खबर आएपछि आसपासका विद्यालयमा विद्यार्थीहरूलाई विद्यालयमै सुरक्षित राखिएको थियो ।

शहरको प्रहरी विभागले फेसबुक पोस्टमा भनेको छ, ‘कम्तीमा तीन जना सर्वसाधारणको हत्या भएको थियो र संदिग्धलाई मारिएको छ । घाइतेहरूको सान जुआन क्षेत्रीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।’ प्रहरीले मारिएका र घाइते भएकाहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे विस्तृत विवरण पनि सार्वजनिक गरिएको छैन । गम्भीर अनुसन्धान भइरहेको मात्र उल्लेख गरिएको छ । रासस