सिहंदरबार अगाडिका अवैध संरचना महानगरले हटायो
जेठ,९ काठमाडौं । काठमाडौ महानगरपालिकाले सिहंदरबारअगाडि रहेका अवैध संरचना र अव्यवस्थित रूपमा फालिएका फोहरमैला हटाएको छ । राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहरमैला हटाउन माइकिङ गरेको र आज महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको बताएको छ ।
सिंहदरबार अगाडिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएका छौँ । आफ्नो घर, कार्यालयअगाडि सरसफाइ गरिदिन महानगरले अनुरोध गर्दै आएको छ । महानगरलाई स्वच्छ, सफा बनाउन सम्पूर्ण व्यक्ति जिम्मेवार हुनुपर्दछ, उनले भने । सरकारी कार्यालयअगाडि अवैध संरचना तथा अव्यवस्थित फोहरमैला राखेमा जरिवाना गर्नुपर्ने विषयमा छलफल भइरहेको उनले बताए ।