कक्षाकोठामै ३० विद्यार्थी बेहोस
जेठ,९ काठमाडौं । कालिकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला मा.वि.का ३० जना विद्यार्थी बेहोस भएका छन्।
विद्यार्थी बेहोस भएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको हो। कक्षाकोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले जानकारी दिनुभयो ।
हिजो दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेका थिए। त्यसपछि विद्यालयमै स्टाफ नर्स पठाएर प्राथमिक उपचार गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिंहले जानकारी दिनुभयो । उनका अनुसार १० देखि १४ वर्ष उमेर समूहका बालबालिका बेहोस भएकाछन्। विद्यालयनजिकैको खोलामा पौडी खेलेर आएका विद्यार्थी कक्षाकोठामा पुगेपछि बेहोस भएको उनको भनाइ छ। पादमघाट महाबैको अत्यधिक गर्मी हुने ठाउँ हो।
केही विद्यार्थी प्रारम्भिक उपचारपछि निको भई घरमै रहेको र केहीलाई महाबै आधारभूत अस्पताल पठाइएको प्रधानाध्यापक शाहीले जानकारी दिए ।