Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक

sharethis sharing button

काठमाडौँ । निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु–त्रिशूली सडक सम्पन्न भएको छैन । निर्माणाधीन बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी मध्ये बालाजु–त्रिशूलीअन्तर्गत साँढे चार किमी मात्रै सडक निर्माण भएको छ ।

लामो समयसम्म निर्माण व्यवसायीले काम नगर्दा अवरुद्ध सडकको ठेक्का गत वर्ष तोडिए पनि कानुनी अड्चनका कारण नयाँ ठेक्कामा जान नसक्दा निर्माण रोकिएको बालाजु–त्रिशूली–छहरे–बिदुरसडक योजनाका इन्जिनियर सागर भण्डारीले बताए । उनका अनुसार विसं २०७०÷७१ म निर्माण कम्पनीसँग सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

बालाजुदेखि पिपलटारसम्मको सडक निर्माणको जिम्मेवारी आइपीएल र सैलुङ कन्स्ट्रक्सनलाई दिइएको थियो । पटक–पटक अवधि थप हुँदासमेत काम नभएपछि गतवर्ष ठेक्का तोडेको उनले बताए । उनले भने, “अहिले हामी बाँकी खण्डमा ठेक्का व्यवस्थापनको प्रक्रियामा अगाडि बढाउन लागेका छौँ ।” 

मुड्खु–तिनपिप्ले खण्डमा कालोपत्र भएपछि अहिले तिनपिप्लेबाट रानीपौवा खण्डको निर्माण बाँकी रहेको योजनाले जनाएको छ । “यसअघि काम गरेको निर्माण कम्पनीको मुद्दा चलिरहेको छ भने रानीपौवादेखि पिपलटारसम्म खण्डको पनि मुद्दा अदालतमा विचाराधीन छ”, इन्जिनियर भण्डारीले भने । 

वर्षाको समयमा आवागमनमा निकै सास्ती हुने गरेको स्थानीयको भनाइ छ । अहिले सडक बिग्रिएको ठाउँमा काठमाडौँस्थित डिभिजन सडक कार्यालयले मर्मत गरिरहेको छ ।

इन्जिनियर भण्डारीले वर्षाको समयमा पनि आवागमन नरोकिने गरी मर्मत भइरहेको बताए । “तीनपिप्लेबाट–रानीपौवा १२ दशमलव ५१ किमी र रानीपौवा–पिपलटार ३३ दशमवलव ६९ किमी गरेर झण्डै ५५ किमी लम्बाइ छ । बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी गरी यस यो योजनाले ६६ किमी सडक निर्माण गर्नुपर्ने छ”, उनले भने ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com