म्यानमारमा भएको हवाई आक्रमणमा १० जनाकाे ज्यान गयो, आठ जना घाइते
म्यानमारमा भएको हवाई आक्रमणमा १० जना नागरिकको ज्यान गएको छ । उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा एक सैनिक विमानले तीनवटा बम खसालेको छ । घटनामा आठ जना घाइते भएका छन् ।
आक्रमणमा ११ घरमा क्षति पुगेको स्थानीय बासिन्दालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । म्यानमारमा सैन्य ‘कु’ को दुई वर्षभन्दा धेरै भैसकेको छ । सन् २०२१ मा भएको सैन्य ‘कु’ पछि त्यहाँ आक्रमणका घटना हुँदै आएका छन् ।
अधिकारवादी समूहले सेनाले गैरन्यायिक हत्या गरेको, गाउँहरू ध्वस्त पारेको र हवाई आक्रमणलाई आफ्ना विरोधीको सजायका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घले गएको वर्ष सेनाले तीन सयभन्दा धेरै हवाई आक्रमण गरेको बताएको थियो । एजेन्सी