Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर ज्यान गयाे

 

काठमाण्डौ – दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्याङ्कअनुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई सय २८ रहेको छ । यसमा एक सय  ७४ पुरुष र ५४ महिला छन् । डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाअन्तर्गत छन् ।

तथ्याङ्कानुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१,  तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२, गढवाका १६ जनाको मृत्यु भएको छ । यसैगरी बबईका नौ, दङ्गीशरणका आठ, शान्तिनगर र राजपुरका समान पाँच–पाँच, बङ्गलाचुलीका तीन तथा  जिल्ला बाहिरका १६ व्यक्तिको डुबेर मृत्यु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार जिल्लामा आव २०७९/८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा डुबेर मृत्यु भएको छ । आव २०७८/७९ मा ६३ जना, आव २०७७/७८ मा ५५, आव २०७६/७७ मा ३७ र आव २०७५/७६ मा २९ जनाको डुबेर मृत्यु भएको तथ्याङ्क छ ।

डुबेर ज्यान गुमाउनेमा २० वर्षमुनिका ८५ जना रहेका छन् ।  प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षमा वृद्धसम्मका रहेका जानकारी दिनुभयो । घोराही–९ की १३ महिनाकी शिशुको २०७८ फागुन २२ गते घर अगाडि राखेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको थियो भने बङ्गलाचुली गाउँपालिका–७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्ने क्रममा चिप्लेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङले डुबेर भएका मृत्युमध्ये धेरैजसो लापरबाहीका कारण भएको जनाएको छ । पानीसँगको खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । ‘केही घटना पानीमा हामफालेर आत्महत्या गरेका पनि छन् तर धेरैजसो डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापरबाहीका कारण भएको देखिएको छ,’ उहाँले भन्नुभयो, ‘पानी र आगोसँग कहिले खेलवाड गर्नु हुँदैन भन्ने जान्दाजान्दै केही हुँदैन भनेर आफैँले ज्यान गुमाएको अवस्था छ ।’

जिल्लाको भौगोलिक अवस्था तथा वर्षाका समयमा सावधानी नअपनाउँदा पनि बगाएर वा डुबेर मृत्यु भएका जिल्ला प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताउनुभयो । साथीभाइसँग लहैलहैमा लागेर खोला नदीमा गएर नुहाउन खोज्दा धेरैजसो युवाले पौडिन नजानेरै ज्यान गुमाएका छन् । उहाँले भन्नुभयो, ‘डुबेर अकालमा ज्यान गुमाउने युवाको सङ्ख्या जिल्लामा धेरै छ । युवा जोश देखाउँदै लापरबाहीले नै अन्तिममा ज्यान फाल्न बाध्य भएका घटना छन् । खोलानाला तर्दा होस् या पानीको काम गर्दा निकै सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com