शोकमा छ नेम्वाङको गृहजिल्ला इलाम
इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ। उनी २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जित्दै आएका थिए। अहिले उनी नेकपा (एमाले) संसदीय दलका उपनेतासमेत थिए।
नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियन्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन्। नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ।
इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए। नेम्वाङले देश र जनताका लागि पुर्याउनुभएको योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बस्नेतले बताए।
गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित भएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले नेम्वाङलाई इलामले सधैँ सम्झिरहने बताए।
‘पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ,’ उनले भने,‘इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो।’
‘उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो,’ नेकपा (एकीकृत समाजवादी) इलामका अध्यक्ष भक्त केसीले भने, ‘उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ।’
राजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन्। इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भने, ‘म धेरै राजनीति त जान्दिनँ तर उहाँको ब्यक्तित्वबाट प्रभावित थिएँ। एकाबिहानैको खबरले स्तब्ध भएँ।’
नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा नेम्वाङले चालेका कदम बिर्सन नसकिने बताए।
‘कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुहुन्थ्यो,’ उनले भने, ‘सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु।’
माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, ‘उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ। उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ।’
राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए। इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए। २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे। २०४८ र २०५२ मा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए।
२०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए। २०६२/०६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्का उनी सभामुख बनेका थिए। उनी २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधान सभाको अध्यक्ष बनेका थिए। संविधान सभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए। चार पटक सभामुख हुँदा उनी सधैं सर्वसम्मत नै बनेका थिए।रासस