हृदयाघातका कारण, लक्षण र बच्ने उपाय
मुटुको रक्तनली तीनवटा हुन्छन् । ती नली एक्कासि बन्द हुने, मुटुमा रक्तसञ्चार कम हुने र मुटुको मांसपेशी रोकिने अवस्थालाई नै हृदयाघात भनिन्छ । उमेर बढ्दै जाँदा यसको जोखिम पनि बढ्दै जान्छ । विशेषगरी ५०–६० वर्ष उमेरसमूहमा उच्च रक्तचाप, कोलेस्ट्रोललगायत समस्या हुने भएकाले हृदयाघातको जोखिम ज्यादा रहन्छ । तर, अहिले युवामा पनि हृदयाघातको जोखिम बढ्दो छ । किनकि, उनीहरूमा पनि उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मोटोपनलगायत समस्या देखिने गरेको छ । अव्यवस्थित जीवनशैली र शारीरिक सक्रियताको कमीका कारण यस्तो समस्या देखिएको हो । खानामा नुन र चिनीको प्रयोग बढी हुँदा पनि समस्या देखिने गरेको छ । त्यस्तै, वायु प्रदूषण पनि हृदयाघातसँग सम्बन्धित छ ।
लक्षण
– मुटुको बीचभागमा बेस्सरी दुख्छ । ढुंगाले थिचेजस्तो, भारी भएजस्तो हुन सक्छ । कहिलेकाहीँ एक्कासि सास फेर्न गाह्रो हुने, नाइटोमाथिको भागमा बेस्सरी दुख्ने, पसिना आउने हुन सक्छ ।
– कुमको दायाँ–बायाँ भागमा दुख्ने, कहिलेकाहीँ घाँटी समातेजस्तो हुनेलगायत लक्षण पनि देखिन्छन् । उच्च रक्तचाप, कोलेस्ट्रोललगायत रोगका बिरामी वा जोखिम उमेरसमूहका व्यक्तिमा यस्ता लक्षण देखिए हृदयाघातको शंका गर्न सकिन्छ । कतिपय मानिस यस्ता विभिन्न लक्षण देखिँदा पनि ग्यास्ट्रिक भयो भनेर बसेका हुन्छन् । तसर्थ, हृदयाघातको शंका गर्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । हृदयाघात भयो कि भनेर शंका गरेर छिटो अस्पताल गइयो भने भए/नभएको पुष्टि हुन सक्छ । सहरी क्षेत्रमा मुटुरोगसम्बन्धी विशेष सेवा दिने अस्पताल उपलब्ध हुने भएकाले त्यस्ता अस्पतालमा नै जतिसक्दो छिटो जानु राम्रो हुन्छ ।
– हृदयाघात हुँदा प्रत्येक मिनेटमा मुटुको मासु मरिरहेको हुन्छ । छिटो पहिचान गरेर उपचार गर्न सक्दा बिरामीलाई बचाउन सकिने सम्भावना धेरै रहन्छ । त्यसैले जतिसक्दो चाँडो अस्पताल जानुपर्छ ।
जोखिम कम गर्न …
स्वस्थ मानिसले हृदयाघातको जोखिम कम गर्नका लागि शारीरिक सक्रियता बढाउनुपर्छ । धूम्रपान गर्न छाड्ने वा नसके कम गर्नुपर्छ । पसिना आउने गरेर दिनमा एक घन्टा हिँड्नुपर्छ । व्यायाम वा योगा पनि गर्न सकिन्छ । ताजा खानेकुरा खानुपर्छ । जंकफुड र फास्टफुड कम गर्नुपर्छ । खानामा फलफूल र सागसब्जीको मात्रा बढाउनुपर्छ । निद्रा पुर्याउनुपर्छ ।
सडेन कार्डियाक एरेस्ट
कहिलेकाहीँ मानिस एक्कासि लड्ने हुन सक्छ, यसलाई हामी ‘सडेन कार्डियाक एरेस्ट’ भन्छौँ । मुटुमा एट्याक भएर मुटु एकदमै छिटो चल्छ, अनि त्यसले प्रेसर जेनेरेट गर्न सक्दैन । मुटुले रगत पम्प गर्न नसकेर दिमागमा रगत कम भएपछि मान्छे लड्छ । ‘सडेन कार्डियाक एरेस्ट’मा लक्षण नै मानिस एकैपटक लड्ने हुन्छ । यस्तो वेलामा अस्पतालभित्र भयो भने सिपिआर दिन सकिन्छ । विकसित देशहरूमा मानिसलाई बेसिक सिपिआर ट्रेनिङ नै दिने व्यवस्था हुन्छ । त्यही कारण कतिपयको ज्यान जोगिन पनि सक्छ । तर, हाम्रोमा यसरी एक्कासि लडेपछि मानिस उठ्न गाह्रो हुन्छ । अस्पतालभित्रै भयो, सिपिआर उपलब्ध भयो भने बचाउन सकिएला, नत्र सम्भावना कम हुन्छ ।
रोकथाम
– हृदयाघातको शंका लाग्नासाथ बिरामीलाई अस्पताल लैजानुपर्छ । अस्पताल गएपछि डाक्टरहरूले उपचार प्रक्रिया सुरु गर्छन् । त्यहाँ आवश्यक जाँच हुन्छ र त्यहीअनुसार उपचार हुन्छ ।
– एकचोटि हृदयाघात भइसकेका बिरामीलाई फेरि दोहोरिने सम्भावना हुन्छ । त्यही भएर अर्को एट्याक हुन नदिन निकै सचेत हुनुपर्छ । अस्पतालबाट फर्किएपछि बिरामीले औषधि नियमित सेवन गर्नुपर्छ । स्वस्थ जीवनशैली अवलम्बन गर्नुपर्छ । समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ ।
– धूम्रपान गर्नुहुँदैन । खानपानमा विशेष ध्यान दिनुपर्छ । शारीरिक गतिविधि बढाउनुपर्छ । हामीले हृदयाघात भएको बिरामीलाई एक महिनापछि अभ्यास गर्ने भन्छौँ । एक महिनाभित्र मुटु कमजोर हुने भएकाले सामान्य हिँडडुल मात्रै गर्न सकिन्छ ।
– खाना स्वस्थकर हुनुपर्छ । नुनको प्रयोग कम गर्नुपर्छ । चिनी कम हुनुपर्छ, सुर्तीजन्य कुरा बन्द गर्नुपर्छ । फलफूल, सागसब्जीको मात्रा बढाउनुपर्छ । निद्रा, तनावको व्यवस्थापन गर्नुपर्छ । नयाँ पत्रिका