कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिँदै

कार्तिक,१ काठमाण्डौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभाको बिहान ११ बजेपछि बस्ने बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची छ । गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लाग्नुभएको छ। राप्रपा र उपसभामुखबाहेक सबै दलका ९३ सदस्यीय प्रदेश सभामा ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन लागेका छन् ।
कांग्रेस, एमालेसहित माओवादी, एकीकृत समाजवादी लगायतका दलले पनि कार्कीलाई विश्वासको मत दिने बताएका छन् । राप्रपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरेको थियो । कांग्रेसबाट विद्रोह गरेका आठ तथा एमालेका ३९ प्रदेश सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।