बाजुराका भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड रुपैयाँ फिर्ता
बाजुरा – बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोड रुपैयाँमध्ये आठ करोड रुपैयाँ फिर्ता गरिएको छ । पहिलो किस्ताको १४ करोडमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि रकम फिर्ता गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमवार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो । त्याे रकम विपद् व्यवस्थापन कोषमा पठाइएको उहाँले बताउनुभयो । भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो ।
प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले यस क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुुपर्ने भएकाले रकम फिर्ता गर्न पत्र पठाएको प्रजिअ पौडेलले बताउनुभयो ।
प्राधिकरणले बाजुराका भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न गएकाे मङ्सिर ४ गते पहिलो किस्ताबापत १४ करोड रुपैयाँ पठाएको उहाँले जानकारी दिनुभयो । निकासा भएको याे रकममध्ये हिमाली गाउँपलिका र बूढीगङ्गा नगरपालिकाबाहेक जिल्लाका सात पालिकाका एक हजार पाँच सय नौ प्रभावित परिवारका लागि तीन करोड ७७ लाख रुपैयाँ सम्बन्धित पालिकामा पठाइसकेको प्रजिअ पौडेलले बताउनुभयो ।
खप्तड छेडेदह गाउँपालिकामा नौ सय ६६, त्रिवेणी नगरपालिकामा एक सय १३, गौमुल गाउँपालिकामा ५५, बूढीनन्दा नगरपालिकामा ६५, स्वामीकार्तिक खापर गाउँपालिकामा नौ, जगन्नाथ गाउँपालिकामा ७४ र बडीमालिका नगरपालिकामामा दुई सय २७ परिवारलाई प्रतिपरिवार २५ हजारका दरले उपलब्ध गराउन सम्बन्धित पालिकाको खातामा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्राधिकरणले गएकाे असोज १६ गते बझाङ केन्द्रबिन्दु भइ गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो ।रासस