बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाडियो
पुष,१५ काठमाण्डौ । ललितपुरको बालकुमारीमा अस्ति भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई छाडिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राखेर भएको प्रदर्शनमा पक्राउ परेकाहरुलाई छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ ।
पक्राउ गरी छाडिएकाहरुलाई मुद्दा नचलाउने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी र भौतिक सम्पत्तिमा तोडफोड गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए । प्रदर्शनका क्रममा दैलेखको महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको ज्यान गएको थियो ।